रामेछाप । दसैँमा यात्रुको चाप बढ्दा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि रामेछापको खाँडादेवी गाउँपालिका—३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ । सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाउँपालिका-६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरिकोट हुँदै लामो दूरीका सवारीसाधन सञ्चालन भइरहेका छन् ।
त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी विश्रामस्थलमा निःशुल्क खाजाको सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष नारायण कार्कीले जानकारी दिए । उनले भने, ‘लामोदूरी पार गरेर आएका सवारीसाधनमा प्राविधिक समस्याका कारण दुर्घटना हुने जोखिम छ। घटस्थापनापछि मात्रै यहाँ दुईतीन वटा दुर्घटना भइसकेका छन् तर पनि चालकले गाडी रोक्न नमान्ने अवस्था थियो । निःशुल्क पानी र खाजाको व्यवस्था पछि भने चालकले यातायातका साधन रोक्ने गरेका छन् । अभियान प्रभावकारी भएको छ ।’
उनका अनुसार यो अभियान दसैँ मनाउन घर जान हिँडेका यात्रीलाई लक्षित गरी यही असोज २४ र २५ गते सञ्चालन गरिएको थियो । फेरि दसैँ मनाएर फर्किनेहरूका लागि अभियान सञ्चालन गर्ने योजना छ । उक्त स्थानमा खाजाका लागि बिस्कुट, चाउचाउलगायतका खानेकुरा र पानी तथा चिसो पेयपदार्थ निःशुल्क रूपमा वितरणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रदिपकुमार सिंहले बताए ।
काठमाडौंबाट नेपालथोक हुँदै खुर्कोट र खैरेनी घाटको पुल तरेर जिल्लाका विभिन्न स्थानमा आवतजावत गर्ने सवारीसाधन बाढीले दुवै स्थानका पुल बगाएपछि मुडे, चरिकोट, मन्थली हुँदै सञ्चालन हुने गरेका छन् । भीरपानीको सित्खादेखि पकरवासको गोगनपानी डाँडासम्म उकालो र गोगनपानीदेखि भीरपानीको चरीखोलासम्म ओरालो बाटो भएकाले यहाँ दुर्घटनाको जोखिम रहेको छ । उक्त अभियान सञ्चालन गरिएपछि यात्री मात्र नभई चालक तथा सहचालकसमेत खुसी भएका स्थानीय राजेशकुमार श्रेष्ठले बताए । रासस
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google