
काठमाडौं । महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) योगबहादुर पाल निलम्बित भएका छन् । महिला प्रहरीमाथि दुर्व्यवहार गरेको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको हो ।
प्रहरीकी सहायक हवल्दारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एसएसपी पाल हेडक्वार्टर तानिएका थिए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत पाललाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि अनुसन्धानका लागि हेडक्वार्टर तानिएको थियो ।
एसएसपी पालले १९ जेठमा घरबिदामा जाने तयारीमा रहेकी हवल्दारलाई सञ्चारसेटबाटै आफू कहाँ पठाइदिन भनेका थिए । आदेशपछि सहायक हवल्दार एसएसपीको निवास गएकी थिइन्। त्यहाँ एसएसपी पालले ‘तिमी मलाई मन पर्याे, आज गुड फ्राइडे मनाऔं’ भनेको अनुसन्धानमा खुलेको छ ।
एसएसपी पालको उक्त अभिव्यक्ति हवल्दारले निवेदनमा पनि उल्लेख गरेकी छन्। एसएसपी पालले अभिव्यक्तिसहित दुर्व्यवहार गर्न लागेपछि उनले ड्युटीमा रहेका अधिकृतलाई घटनाबारे जानकारी गराएकी थिइन् ।
उनले एसएसपी पालले दुर्व्यवहार गरेको भन्दै डिउटी अधिकृतलाई जानकारी गराएकी थिइन् । एसएसपी पालमाथि यौन दुर्व्यवहारको आरोप लागेको यो पहिलो घटना भने होइन । पाल डीएसपी भएर सोलुखुम्बुमा हुँदा पनि यस्ताेखालकाे आरोप लागेको थियो । त्यसबेला पनि उनलाई विभागीय कारबाही गरिएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google