खाँदबारीमा २१ वर्षीया युवतीको हत्या गरेपछि युवकले आफ्नै पेटमा खुकुरी हाने

दर्पण दैनिक १२ जेष्ठ २०८०,१२:०८
post

किमाथांका । संखुवासभाको खाँदबारी नगरपालिका–१, घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ मा बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन् । उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन् ।

गदालले युवतीको हत्या गरेपछि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।

युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ ।

गदाल बिहीबार मात्र नेपाल प्रहरीको तीनमहिने तालिम सकेर खाँदबारी आएको खुलेको छ । गए राति गदाल दर्नालको डेरामा बसेको बताइएको छ ।

बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हत्याको कारण भने खुल्न नसकेको डीएसपी गोदारले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: