काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नीरा पाण्डे आचार्यको हत्याको आरोपमा पक्राउ परेका एकजनालाई सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सीआईबीले झापाको धुलाबारीका विनोद विकलाई सार्वजनिक गरेको हो ।
सीआईबीका प्रवक्ता एवं एसपी सञ्जय सिंह थापाका अनुसार विक ठमेलको एउटा क्लबमा बाउन्सरका रूपमा कार्यरत थिए । अनुसन्धानका क्रममा घटनास्थलको वरिपरि सीसीटीभी फुटेजमा देखिएका व्यक्ति पछ्याउँदै जाँदा विकको संलग्नता रहेको पुष्टि भएको थापाले बताए ।
विकको कोठाबाट हत्याको समयमा लगाइएको लुगा, चक्कुसहितको ब्याग बरामद भएसँगै उनलाई पक्राउ गरिएको एसपी थापाले जानकारी दिए ।
प्रहरीका अनुसार भाँडा किन्ने बहानामा पसलमा प्रवेश गरेका विकले पछाडिबाट छुरा प्रहार गरेको र हत्यापश्चात् सुनका गरगहना र पसलमा रहेको नगद लिएर भागेको खुलेको छ । चोरी गर्ने उद्देश्यले उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा विकले आफूले हत्या गरेको स्वीकार गरिसकेको थापा बताउँछन् । हालसम्मको अनुसन्धानमा घटनामा अरू कोही सहभागी थिए वा थिएनन्लगायत विषय खुल्न नसकेको उनले बताए ।
यही वैशाख ७ गते काठमाडौंको कपन, सरस्वतीनगरस्थित नीरु भाँडा पसलमा सञ्चालक पाण्डेमाथि छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेलापरेको थियो ।
घटनाको अनुसन्धान गर्न ब्युरोका प्रमुख एवं एआईजी किरण बज्राचार्यको नेतृत्वमा आठ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो ।