काठमाडौंमा एनआरएनए महाधिवेशनको चहलपहल बढ्यो

दर्पण दैनिक २५ आश्विन २०८०,०७:१४
post

काठमाडौं । यही असोज ३० गतेदेखि हुन गइरहेको गैरआवासीय नेपाली संघ  (एनआरएनए) को ११ औं महाधिवेशनका लागि विश्वभरबाट प्रतिनिधि (डेलिगेट्स) हरु नेपाल आउनेक्रम शुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा असोज ३० देखि कार्तिक ३ गतेसम्म हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले चुनावी चहलपहल पनि ब्यापक बढेको छ ।

नयाँ नेतृत्वका लागि हालका कार्यकारी अध्यक्ष डा.बद्री केसी, अध्यक्ष रविना थापा, उपाध्यक्ष महेशकुमार श्रेष्ठ तथा अर्का उपाध्यक्ष आरके शर्माबीच प्रतिस्पर्धा हुँदैछ ।

महाधिशनका लागि निर्वाचन समितिले ४, १९२ जनाको प्राराम्भिक मतदाता नामावली प्रकाशित गरिसकेको छ । यस पटक भौतिक र अनलाइनमार्फत मतदान गर्न पाउने व्यवस्था भएपनि ठूलो संख्यामा प्रतिनिधिहरु काठमाडौं उत्रने क्रम जारी छ  । ठमेल, दरबारमार्ग, बालुवाटारलगायतका क्षेत्रमा उम्मेदवार तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति देखिएको छ ।

विभिन्न देशको भ्रमण सकेर अध्यक्षलगायत अन्य पदका प्रत्यासीहरुले काठमाडौंमा चुनावी अभियानलाई तीब्रता दिएका छन् । ९ बुँदे प्रतिवद्धतासहित डा.केसीले २०२३–०२५ कार्यकालका लागि अध्यक्षमा दाबी प्रस्तुत गरेका छन् भने मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएका उपाध्यक्ष श्रेष्ठले पाँच बुँदे प्रतिबद्धतासहित चुनावी अभियानलाई अघि बढाएका छन् ।

१०औं महाधिवेशनबाट पूर्वअध्यक्ष शेष घले समर्थित ठूलो समूह असन्तुष्ट भएपछि बिनोद कुँवरको नेतृत्वमा छुट्टै कार्य समितिको घोषणा गरिएको थियो । विभाजनमा रहेको एनआरएनए अभियानलाई एक ठाउँमा ल्याउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा जुन १८, २०२३ मा दुवै पक्षबीच सहमति भएको थियो । तर पछिल्लो समय चार बुँदामा समेटिएको सहमति कार्यान्वयनमा नआएपछि एकताको महाधिवेशन हुने सम्भावाना निकै कमजोर भएको बताइन्छ  ।

यद्यपि, तीन दिन अघि अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले कोरिया भ्रमणका क्रममा असन्तुष्ट समूहको नेतृत्व गरिरहेका विनोद कुँवरसँग भेटेर एकताका लागि अनौपचारिक सहमति गरेपछि चुनावी माहोल परिवर्तन भएको छ । उनीहरुबीच भएको आन्तरिक छलफलमा तीन महिनाभित्र एकता गर्ने सहमति जुटेको थियो ।

कोरिया भ्रमणमा रहेका बेला श्रेष्ठले आफ्नो टिमका उम्मेदवारहरु र डेलिगेट्स एवम सदस्यहरुबीच आयोजना गरिएको अन्तरसंवादलाई सम्बोधन गर्नेक्रममा तीन महिनाभित्र एकता गराउने प्रतिबद्धता जनाएका थिए । ‘गैरआवासीय नेपाली संघप्रति ठूलो अपेक्षा छ । तर पछिल्लो समय संस्थामा विवाद बढेकाले अब सहमति, सहकार्य र भावनात्मक एकता गर्नुपर्ने छ । त्यसैले विनोद कुँवरजीलाई साथमै राखेर म संघलाई एक बनाइ छाड्ने वाचा गर्दछु,’ उनले भने, ‘विगतका दिनमा केही अविश्वास बढ्यो, प्राविधिक कारणले मिलन हुन सकेन, तर म समन्वयकारी भूमिका निर्वाह गरेर इतिहास बनाउँछु ।’

त्यस क्रममा कुँवरले १०औं महाधिवेशनमा जस्तै त्रुटीहरु नगर्न र एकता गर्न आब्हान गरेका थिए । उनले श्रेष्ठलाई शुभकामना समेत दिंदै सदभाव प्रकट गरेका थिए ।  गत मार्च २०२२ मा काठमाडौँमा एनआरएनएको छुट्टाछुट्टै १०औं महाधिवेशन आयोजना गरिए पछि कुँवर नेतृत्वको समूहले समानान्तर संस्था संचालन गर्दै आएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५