काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रसहित दश जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकसाथ नक्कली प्रमाणपत्र बनाउनेलाई पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार इलेक्ट्रिक डाइभरसिटी भिसा (ई–डिभी) लोटरी २०२३ को नतिजामा लोटरी परेर कागज नपुगेपछि नक्कली प्रमाणपत्र बनाउने समूह फेला परेको हो ।
डिभी परेपछि प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका व्यक्तिले भिसा प्रयोजनका लागि एसएलसी तथा प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेस गरेको खुलेपछि उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीको टोलीले विशेष सूचनाको आधारमा सुरुमा महाराजगञ्जस्थित अमेरिकन दूतावासबाट विवेक उपाध्यायसहित तीन जनालाई नियन्त्रणमा लिएर जाँचबुझ गर्दा अन्य सात जना पक्राउ परेका हुन् ।
प्रहरीले सञ्जय महर्जन, भगवती उप्रेती, रोना गुरुङ, सुमन ढकाल, सक्षम अर्याल, सुरज अधिकारी, अशोक श्रेष्ठ, पुरुषोत्तम मल्लिक र स्वर्णिम दाहाललाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।