सन्तोष दहाल, ललितपुर । ललितपुर महानगरपालिका वडा नं ४ का पूर्व वडा अध्यक्ष नारायण केसीको निधन भएको छ । ६५ वर्षीय केसीको आईतबार बिहान जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
सामान्य अवस्थामै रहेका केसी बिहान मर्निङ वाकबाट घर फर्केपछि घरको बगैँचामा पानी हाल्दै गर्दा एक्कासी ढलेका थिए । त्यसपछी तुरुन्तै उनलाई अल्का अस्पतालमा पुर्याएपछी अस्पतालले मृत घोषणा गरेको हो । २०७४ सालमा नेकपा एमालेको तर्फबाट ललितपुर महानगरपालिका ४ को वडाध्यक्षमा निर्वाचित भएका केसीको आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार सम्पन्न भईसकेको छ ।
निधनपश्चात वडा नं ४ को वडा कार्यालय परिसरमा दिवंगत केसीको पार्थिव शरीरमा शिक्षामन्त्री रघुजी पन्त, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य, ललितपुर महानगरपालिकाका जनप्रतिनिधि, विभिन्न पार्टीका नेता कार्यकर्ता तथा वडावासी र केसीका आफन्तहरु उपस्थित भई श्रद्धाञ्जली अर्पण गरेका थिए । यसैगरी पार्टी जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले पशुपति आर्यघाटमा उनलाई पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरे भने वडा कार्यालयमा पनि पार्टी पङ्क्ती श्रद्धाञ्जली अर्पण गर्न पुगेको थियो ।
केसीको निधनमा नेकपा एमाले ललितपुर जिल्ला कार्यालयले समेत गहिरो शोक व्यक्त गरेको छ । पार्टी जिल्ला अध्यक्ष आचार्यले उनको निधनले पार्टीले राजनीति र सामाजिक सेवामा निरन्तर समर्पित एक सच्चा र इमानदार सिपाही गुमाएको बताए ।
एमालेको जिल्ला कमिटी सदस्य समेत रहेका केसी विभिन्न समयमा पार्टीको ललितपुर ३ नं क्षेत्रीय कमिटिको सदस्य, सचिव,उपाध्यक्ष हुँदै जिल्ला कमिटिमा काम गरेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google