जनकपुरधाम । जनकपुरमा कुकुरको आक्रमणमा परी एक जना बालिकाको मृत्यु भएको छ । कुकुरको झुण्डले आक्रमण गर्दा शहिदनगर नगरपालिकाको यदुकोहा स्थायी घर भएका दिपक साहकी ६ वर्षीया छोरी सन्ध्याको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ पुलचोकस्थित डेरा नजिकै घारीमा आँप टिप्न जाँदा ३-४ वटा संख्यामा रहेका कुकुरले आक्रमण गर्दा सन्ध्याको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।
उनका अनुसार सन्ध्या दिदीबहिनीहरूसँगै खेल्दा खेल्दै घरबाट आँप टिप्न हिँडेकी थिइन् । ‘सँगै खेलिरहेकाहरू पनि सा-साना बच्चाहरू नै थिए । उनीहरूले कुकुर धपाउन खोजे तर सकेनन् । कुकुरले टोकेर बच्चाको घटनास्थलमै मृत्यु भएको हो,’ उनले भने ।
सन्ध्याकी आमाबुवा पुलचोकमा डेरा लिई मजदुरीको काम गर्छन् । उनीहरू काम गर्न गएको बेला बालिकाहरू घरबाट खेल्दै आँप टिप्न जाँदा घटना भएको प्रहरीले जनाएको छ ।