काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजना ‘घरघरमा स्टिकर टाँस अभियान’ सुरु भएको छ । संघीय सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ‘घरघरमा स्टिकर टाँस अभियान’ सुरु गरेका हुन् । स्टिकर टाँस्ने अभियान उद्घाटन गर्दै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले यस्ता अभियानले प्रहरीप्रति नागरिकको धारणा सकारात्मक हुने विश्वास व्यक्त गरे ।
'प्रहरीले पनि आफ्नो व्यवहारमा मिठास ल्याउनु पर्यो । नागरिकहरु प्रहरीको दैलोमा पुग्दा गरिने व्यवहार बदल्न आवश्यक छ । प्रहरीमात्र सक्रिय भएर केही हुँदैन', उनले भने, ‘हामी नागरिक पनि अनुशासित हुनुपर्छ ।’ उनका अनुसार सीमित स्रोतसाधन र कम जनशक्तिका बाबजुत पनि प्रहरी सामाजिक कार्यमा सक्रिय भएकाले नागरिकको पनि उत्तिकै सक्रिय रहन आवश्यक छ । सो कार्यक्रममा कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसी विशेष अतिथी रहेका थिए ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजना तथा कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहकार्यमा सुरु भएको सो कार्यक्रममा कार्यक्रम शुभारम्भ भएसँगै कर्णाली प्रदेशका दशवटै जिल्लामा एकै समयमा ‘घरघरमा स्टिकर टाँस अभियान’ सुरवात गरिएको प्रदेश प्रहरी प्रमुख भीम ढकालले जानकारी दिए । ढकालले नागरिकमैत्री सेवाको अपहार्यतालाई प्रभावकारी बनाउन अभियान थालनी गर्नु परेको बताए । नागरिकले घरदैलोबाटै प्रहरीको सुरुक्षा महसुस होस भनेर स्टिकर टाँस अभियान सञ्चालन गरेको उनको भनाइ छ ।
कर्णालीका ३ लाख ७१ हजारभन्दा बढी घरधुरीमा नेपाल प्रहरीको फोन नम्बरसहितको स्टिकर टाँस्ने विषयमा स्थानीय तहको पनि उत्तिकै भूमिका रहेको वीरेन्द्रनगरका नगरप्रमुख मोहनमाया ढकालले बताइन् । उनले प्रदेशको अपराध रोकथाम नियन्त्रणका लागि यो अभियान टोलटोलमा पुग्न आवश्यक रहेकोमा जोड दिइन् । अभियानमा तीन हजारभन्दा बढी प्रहरी परिचालन गरेर करिब तीन महिनामा स्टिकर टाँसेर सकाउने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google