काभ्रे । रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजना तथा प्रारम्भ (सामाजिक संस्था) र सिंगापुर रेडक्रसको सहयोग एवं स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको समन्वयमा यहीं असार २८ र २९ गते निःशुल्क स्वास्थ्य शिविर आयोजना हुन लागेको हो ।
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङका अनुसार बिहान ८ बजे देखि बेलुका ४ बजे सम्म मंगलटार स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर हुनेछ ।
स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा प्रसुति तथा स्त्री रोग, मुटु रोग, जनरल फिजिसियन, हाडजोर्नी, अकुपञ्चर, प्लास्टिक सर्जरी र मनोपरामर्श लगायतका निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत तामाङले बताए । उनले भने, ‘बृहत निःशुल्क स्वास्थ्य शिविरमा पाल्नु भई स्वास्थ्य सम्बन्धी लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।’