आन्दोलन फिर्ता लिएर नियमित काममा जुट्न स्वास्थ्यकर्मीलाई मन्त्रालयको आग्रह

दर्पण दैनिक २९ माघ २०७९,०९:०५
post

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरूलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई बिरामीको स्वास्थ्य उपचार सेवामा फर्किन आग्रह गरेको छ । राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायतमाथि प्रहरीले माघ २७ गते लाठीचार्ज गरी घाइते बनाएको घटनाप्रति विरोध गर्दै नेपाल चिकित्सक संघले आइतबार देशैभरका अस्पताल र स्वास्थ्य संस्थाका सेवा बन्द गरेको छ ।

यो घटनाप्रति मन्‍त्रालयले विज्ञप्ति निकालेर दु:ख व्यक्तसमेत गरेको छ । ‘घटनालगत्तै नेपाल प्रहरीद्वारा घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी घटनाको छानबिन गरिरहेको तथा उक्त घटनाको विषयमा थप छलफल गरी समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने र संघले उठाएका विषयलाई संवादमार्फत समाधान गर्न प्रयास भइरहेको छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएर नागरिकको स्वास्थ्य उपचारको नियमित काममा जुट्न मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आग्रह गरेको छ । आन्दोलनका कारण देशैभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा ठप्प छ भने बिरामीले दु:ख पाएका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: