काभ्रे । बागमती प्रदेश सरकारका पूर्व खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री, बागमती प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा खानीखोला गाउँपालिका ६ साल्धारा जाने भएका छन् । चैत्र ३ गते शनिबारका दिन नवनिर्मित साल्धारा स्वास्थ्य चौकी भवनको उद्धाटन गर्न पूर्वमन्त्री लामा साल्धारा जाने भएका हुन् । खानीखोला गाँउपालिकाकै विकट क्षेत्रको रुपमा रहेको सो वडामा व्यवस्थित स्वास्थ्य चौकी भवनको अभावका कारण त्यहाँका नागरिकले जटिल समस्या झेल्दै आएका थिए ।
स्वास्थ्य चौकी भवन सञ्चालनमा आएसँगै अब यो समस्याको केही हदसम्म समाधान हुने खानीखोला गाउँपालिका ६ का वडाध्यक्ष बृहस्पति घिसिङले जानकारी दिए । उनले भने, ‘विगत लामो समयदेखि सो भवन सञ्चालन गर्ने भनिए पनि प्राविधि कारण समयमा नै जनतालाई सेवा दिन नसकेको प्रति हामी दुखित नै छौं ।’ नवनिर्मित स्वास्थ्य चौकी भवनबाट दिइने सेवा प्रवाहमा कुनै पनि कमजोरी नगर्ने अध्यक्ष घिसिङको भनाई छ ।
सो भवनलाई औपचारिक र विधिवत रुपमा सेवा दिने गरी सञ्चालन गर्न बागमती प्रदेश सरकारका पूर्व खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सो कार्यक्रममा मन्त्री लामासँगै खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ ‘छिन्ताङ’, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बा सहभागी हुने बताइएको छ । कार्यक्रम यहीं चैत्र ३ गते शनिबार खानीखोला गाउपालिका वडा नं ६ को देउरालीमा ११ बजे देखि सुरु हुने साल्धारा स्वास्थ्य चौकीका ईन्चार्ज श्रीराम कुमार रामले जानकारी दिए ।