बैतडी । बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–८ हरिचनका अन्दाजी ३७ वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । उनी आश्रित गुल्म बाजुरामा सशस्त्र प्रहरी हवल्दारका रुपमा कार्यरत थिए ।
बाजुराबाट घर आउने क्रममा गएराती २ बजे दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा उनलाई नम्बर नखुलेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । गाडीको ठक्करका कारण उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए । उनका अनुसार ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन ।
गाडीको ठक्करबाट महराको मृत्यु भएपछि अहिले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । मृतकका आफन्तले दोषीको पहिचान नहुँदासम्म गाडी चल्न नदिने चेतावनी दिएका छन् । महराको शव बीच सडकमै रहेको छ । प्रहरीले ठक्कर दिने गाडी पहिचानका लागि अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google