
सोलुखुम्बु । लिखुपिके गाउँपालिका र उमाकुण्ड गाउँपालिकाबिच अन्तरपालिकास्तरीय समन्वय बैठक सम्पन्न भएको छ । उक्त बैठक गत सोमबार रामेछापको उमाकुण्ड गाउँपालिका च्यादलुमा सम्पन्न भएको हो । बैठकमा महत्त्वपूर्ण विषयमा छलफल तथा निर्णय भएको लिखुपिके २ का अध्यक्ष मणिराम बस्नेतले दर्पण दैनिकलाई जानकारी दिए ।
बैठकमा दुईवटै पालिकाको सिमाक्षेत्रमा पर्ने लिखुनदी र अन्य सहायक नदिमा संचालित जलविद्युत आयोजनाको विषयमा छलफल भएको छ । आयोजना क्षेत्रभित्र बसोबास गर्ने स्थानीयवासी र दुइओटै गाउँपालिकाको असन्तुष्टि हुँदाहुँदै हाइड्रोपावरले बेवास्ता गरेको विषयमा पटकपटक सम्बन्धित जलविद्युत आयोजनासँग छलफल भएपनि समस्या समाधान नभएकोले उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत नियमन आयोग र विकास विभागसँग ध्यानाकर्षण गराउँदै छलफल गर्ने कार्य अगाडी बढाउने निर्णय भएको छ ।
त्यस्तै, लिखुपिके गाउँपालिका र उमाकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा टेलीफोन र फोरजी सेवा विस्तार गर्न दुवै स्थानीय तहको समन्वयमा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका-१, थाल्चेमा टावर स्थापनाको लागि नेपाल टेलिकम मोबाईल सेवा निर्देशनालय समक्ष माग गर्ने निर्णय गरेको छ ।
बैठकले गौरीशंकर संरक्षण क्षेत्रले गोकुलगंगा गाउँपालिका वडा नं १ को शिवालयमा नै जनही रु ३ हजार शुल्क लिने गरेकोले उमाकुण्ड र लिखुपिके गाउँपालिकामा बाह्य पर्यटकहरुको सङ्ख्या ठप्प भएको निष्कर्ष निकालेको छ । उक्त शुल्कलाई घटाउने वा निशुल्क गर्ने सम्बन्धमा गौरिशंकर संरक्षण क्षेत्रसँग समन्वय र सहकार्यको लागि अनुरोध गर्ने निर्णय भएको छ ।
बैठकमा दुइवटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google