
काठमाडाैं । सुदूरपश्चिम प्रदेशको जनसंख्या २६ लाख नाघेको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार सुदूरपश्चिमको जनसंख्या २६ लाख ९४ हजार सात सय ८३ पुगेको हो ।
योसँगै सुदूरपश्चिम प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने पाँचौँ प्रदेश बनेको छ । २०६८ सालको जनगणनामा सुदूरपश्चिम प्रदेशको जनसंख्या २५ लाख ५२ हजार पाँच सय १७ थियो ।
कैलालीमा सबैभन्दा बढी जनसंख्या र दार्चुलामा कम
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहने जिल्ला कैलाली बनेको छ । तथ्यांक अनुसार नौ जिल्ला रहेको प्रदेशमा सबैभन्दा बढी जनसंख्या कैलालीमा रहेको उल्लेख छ ।
२६ लाख ९४ हजार सात सय ८३ जनसंख्या रहेको प्रदेशको कैलालीमा मात्र नौ लाख चार हजार छ सय ६६ पुगेको छ । प्रदेशको तराईको अर्को जिल्ला कञ्चनपुरको जनसंख्या पाँच लाख १३ हजार सात सय ५७ रहेको तथ्यांकमा उल्लेख छ ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम जनसंख्या हुने जिल्ला दार्चुला रहेको छ । जनगणना २०७८ अनुसार दार्चुलाको जनसंख्या एक लाख ३३ हजार तीन सय १० पुगेको छ ।
यस्तै, अछामको जनसंख्या दुई लाख २८ हजार आठ सय ५२, डोटीकोे दुई लाख चार हजार आठ सय ३१, डडेल्धुराको एक लाख ३९ हजार छ सय दुई, बैतडीको दुई लाख ४२ हजार एक सय ५७, बझाङको एक लाख ८९ हजार ८५ र बाजुराको एक लाख ३८ हजार पाँच सय २३ पुगेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google