
काठमाडाैं । बागमती प्रदेश सरकारले अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन गरेको छ । सवारीमा लाग्ने भाडाको ५ प्रतिशत भाडा घटाइएको हाे ।
पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएपछि भाडा घटाउने निर्णय गरेको हो ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको छ ।
उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा बिहीबारबाट लागू हुने गरी ५.९० प्रतिशतले घट्ने छ। यस्तै, बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारीका साधनमा ५.६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटाउने निर्णय मन्त्रालयले गरेको छ।
यसअघि बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट गत वर्षको साउन ५ गते नयाँ भाडा दर कायम गरेको थियो । पेट्रोलियम पदार्थको मूल्य घटेपछि संघीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले भाडा दर घटाउने निर्णय गरेको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google