काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन विवादसम्बन्धी मुद्दालाई निरन्तर सुनुवाइ गर्दै तत्काल टुंग्याउनका लागि इजलासबाटै मिति तोकेको छ । पहिलो सुनुवाइमै सर्वोच्चले साउन ३ गतेसम्म प्रतिपक्षको लिखित जवाफ पेस गर्ने अनि साउन ७ गतेदेखि निरन्तर सुनुवाइ गरी फैसला सुनाउने भनेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोशी प्रदेशको सरकार गठन सम्बन्धी विवाद तत्कालै टुंग्याउनुपर्ने भन्दै यस्तो आदेश गरेको हो ।
सर्वोच्चले हाललाई मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका उद्धव थापालाई दीर्घकालीन असर पर्ने निर्णय गर्न भने रोक लगाएको छ । ‘अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा, प्रस्तुत मुद्दामा तत्कालै लिखित जवाफ पेस गर्ने र इजलासबाटै निर्णयार्थ सुनुवाइको मिति तोकिएको हुँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू/नगराउनु’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम प्रत्यर्थीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google