टल्कने ढुंगा परीक्षण गर्न भूगर्भविद्को टोली गोरखामा

दर्पण दैनिक २४ श्रावण २०८०,०६:५८
post

गोरखा । गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षासहित राखिएको टल्कने ढुंगा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको भूगर्भविद् सहितको टोली गोरखा आइपुगेको छ ।

स्थानीयसहित विभिन्न संघ संस्थाले बरामद गरेको उक्त टल्कने ढुंगा अन्यत्र नपठाउन अनुरोध गरेपछि ढुंगा परीक्षणका लागि भूगर्भविद् सहितको टोली गोरखामै झिकाइएको हो । टल्कने ढुंगा परीक्षणका लागि जियोलोजिस्ट डा.सुस्मिता भण्डारी र दुर्गा बोलाखे सोमबार गोरखा आइपुगेको गोरखाका साहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले जानकारी दिए । 

‘ढुंगा बरामद गरेलगत्तै परीक्षणका लागि विज्ञ टोली पठाइदिन जिल्ला प्रशासन कार्यालयले भूगर्भ विभागलाई आग्रह गर्दै पत्राचार गरेको थियो’, उनले भने, ‘विभागले परीक्षण गर्न समस्या हुने भएकाले विभागमै ल्याउन भने पनि लैजान समस्या भएपछि पुनः पत्राचार गरी विज्ञहरूको टोली जिल्लामै झिकाइएको हो ।’

विभागले आवश्यक उपकरण सहितको विज्ञहरूको टोली पठाएको उनले बताए । बरामद गरिएको टल्कने ढुंगाको तौल ५४ केजी छ । एकातिरबाट लाइट बाल्दाभित्रैबाट अर्कोतिर उज्यालो बारपार हुने उक्त ढुंगा पुख्र्यौली सम्पत्तिका रूपमा घरमै राखिएको पाइएको थियो ।

प्रहरीले बरामद गरेलगत्तै पनि भूगर्भविद्लाई भिडियो कल गरेर देखाउँदा विज्ञहरूले उक्त टल्कने ढुंगा ‘क्वार्ज क्रिस्टल’ भएको हुनसक्ने बताएका थिए । ‘क्वार्ज क्रिस्टल’ भए पनि कुन गुणस्तरको भन्ने कुराको परीक्षण गर्न विज्ञसहितको टोली नै गोरखा आएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

टल्कने ढुंगा वर्षौंदेखि घरमा पूजा गर्दै आएको पाइएपछि उक्त ढुंगा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा राख्न गोरखाका विभिन्न संघ संस्थाले माग गर्दै आएका छन् । टल्कने ढुंगा ऐतिहासिक महत्वको भएको हुनसक्ने भन्दै उक्त शिला गोरखा दरबार परिसरमा प्राणप्रतिष्ठा गरी व्यवस्थापन गर्नुपर्नेमा संघ संस्थाको जोड छ ।

पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको अलौकिक प्रकारको बल्ने शीला कुनै पनि बहानामा गोरखा जिल्ला बाहिर नपठाई मूलधनीको इच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्ने माग स्थानीयको छ ।
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: