विराटनगर । राजस्व हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका यातायात कार्यलयका ५ जना पूर्वकर्मचारी पक्राउ परेका छन् । उनीहरूलाई मोरङ प्रहरीले सोमवार साँझ विराटनगरबाट पक्राउ गरेको हो ।
यातायात व्यवस्था कार्यालय, इटहरीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपाल, लेखापाल मणिराज दाहालसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्य कर्मचारीमा कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाल रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसी रञ्जनकुमार दाहालले जानकारी दिए । विशेष अदालत, काठमाडौंले २०७९ चैत ८ गते उनीहरूलाई भ्रष्टाचार (राजश्व रकम हिनामिना) कसूरमा दोषी ठहर गरेको थियो ।
तत्कालीन लेखापाल दाहाललाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । यस्तै कार्यालय प्रमुख नेपाललाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरिवाना, कटुवाललाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ जरिवाना, अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ जरिवाना तथा देवराज नेपाललाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
उनीहरूबाट ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३०८ रुपैयाँ असुल गर्न बाँकी रहेको मोरङ प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०६९-०७० र २०७०-०७१ मा ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको थियो ।
आव २०७१-०७२, २०७२-०७३ र २०७३-०७४ फागुन मसान्तसम्ममा भएको ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिना भएको ठहर गर्दै अख्तियारले २ वटा मुद्दा विशेष अदालतमा दायर गरेको थियो ।
राजस्व रकम हिनामिना मुद्दामा यातायात व्यवस्था कार्यालयले चार जना उपसचिवसहित ११ जना कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको थियो । कैद सजाय भएपछि उनीहरू फरार थिए ।
पक्राउ परेकाहरूलाई अदालत उपस्थित गराएर कैद सजाय भुक्तानका लागि मोरङ कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google