
काभ्रे । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थ लामाले पनौती ४ मा निर्माण गरिएको ९२ हजार लिटर क्षमताको पानी ट्याङ्की उद्घाटन गरेका छन् । बागमती प्रदेश खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत बिनियोजन भएको १५ लाख रुपैयाँबाट ज्यालाचिटी खानेपानी उपभोक्ता समितिले निर्माण गरेको ९२ हजार लिटर क्षमताको पानी ट्याङ्की मन्त्री लामाले उद्घाटन गरेका हुन् । पानी ट्याङ्की उद्घाटन कार्यक्रममा मन्त्री लामाले बागमती प्रदेश सरकारको ‘एक घर एक धारा’ को अभियान पूरा गर्न आफू प्रतिवद्ध भएर लागेको बताए । पनौतीका सबै वडावासीलाई खानेपानी खुवाउने योजनासहित प्रस्तुत हुन नगरका प्रमुख र जनप्रतिनिधिलाई अनुरोध गर्दै मन्त्री लामाले आफ्नो मन्त्रालयबाट बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
ज्यालाचिटी खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिपक थापाले समितीमार्फत नै प्रत्येक घरधुरीमा खानेपानि पनि वितरण गर्नको लागि पनौती नगरपालिकाले १२ रोल पाइप, वडा नम्बर ४ ले ९ रोल पाइप सहयोग गरेको बताए ।
थापाले एक घर एक धारा सहित आयोजना सम्पन्न गर्न २ सय १५ घरधुरीबाट ५ हजारका दरले र ५७ नयाँ सदस्यबाट ९ हजार ५ सयका दरले रकम उठाइएको बताए । चामखर्कमा रहेको मुहानको संरक्षण गरिनुका साथै २ इन्चको पाइपबाट ट्याङ्की सम्म पानी ल्याइएपछि पानी पर्याप्त भएर यहाँका करिब ३ सय घरधुरी लाभान्वित भएको अध्यक्ष थापाले बताए ।
बागमती प्रदेशका पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईँले पनौतीमा खानेपानीको समस्या समाधान गर्न नगरपालिकालाई प्रदेश र संघीय सरकारसंग सहकार्य गराउने गरि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न अनुरोध गरिन् ।
पनौतीका नगर प्रमुख रामशरण भण्डारीले काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना सम्पन्न गर्न नसक्दा पनौतीमा खानेपानीको समस्या दिन प्रतिदिन बढ्दै गएकोले त्यसलाई सम्पन्न गर्न तर्फ लाग्नुपर्ने बताए । पनौतीकै नगर उपप्रमुख गीता बन्जाराले पनौतीको विकास निर्माणमा सहकार्य गर्ने सबैलाई आभार प्रकट गरिन् ।
पनौती नगरपालिका ४ का वडाध्यक्ष दिपकप्रसाद दाहालले तोकिएको समयभन्दा धेरै छिटो खानेपानी योजना सम्पन्न गरेकोमा आभार प्रकट गरे । खानेपानी तथा सरसफाइ डिभिजन नम्बर ३ कार्यालयका डिभिजनल इन्जिनियर अनिलप्रसाद केशरीले बजेट भन्दा बढि श्रमदान गरेर आयोजना सम्पन्न गरेकोमा आभार प्रकट गरे । कार्यक्रममा स्थानीयले खानेपानीको समस्या तत्कालको लागि समाधान भएको भन्दै घेराबार लगायतको कामका लागि सहयोग गर्न अनुरोध गरेका थिए ।
तीर्थ लामा मन्त्री बनेपछि काभ्रेमा खानेपानी मन्त्रालयमार्फत १ अर्ब ४१ करोड २८ लाख ६० हजार बजेट
नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थ लामा नेतृत्वको मन्त्रालयमार्फत काभ्रेमा १ अर्ब ४१ करोड २८ लाख ६० हजार रकम विभिन्न योजनामा विनियोजन भएको छ । क्षेत्र नं १ (क) मा ४७ करोड ६३ लाख ६० हजार बराबरको खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजना समावेश भएका छन् । प्रतिनिधी सभा क्षेत्र नं १ (ख) मा ४६ करोड २७ लाख ५० हजारका योजना समावेश भएका छन् । काभ्रे क्षेत्र नं २ तर्फ खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजनामा ४७ करोड ३७ लाख ५० हजार रकम विनियोजन भएको छ ।
मन्त्री लामामार्फत प्रदेशका विभिन्न मन्त्रालयबाट काभ्रेमा २ अर्ब १९ करोड ५५ लाख ६० हजारका योजना आर्थिक बर्ष २०८०–८१ को लागि बजेटमा समावेश भएका छन् । प्रदेश सरकारका विभिन्न मन्त्रालय र मातहतका कार्यालय र स्थानीय तहमार्फत कार्यान्वय हुने ठूलो संख्यामा योजना र बजेट समावेश भएको हो । संघीयता कार्यान्वयनका क्रममा प्रदेश सरकार गठन भएपछि यतिको परिमाणमा योजना र बजेटमा काभ्रे समावेश भएको यो पहिलो पटक हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google