काभ्रे । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा अलकत्रा मात्रै विछ्याएको सडकमा कालोपत्रे नै उप्कियो भन्दै सामाजिक सञ्जालमा गरिएको प्रचार यथार्थ नभएको बताइएको छ । गाउँपालिका उपाध्यक्ष सागर मोक्तानले सामाजिक सञ्जालमा गरिएको प्रचार यथार्थ नभएको बताएका हुन् । उनले भने, ‘वास्तविक बुझेर फिल्डको अहिलेको ताजा फोटो भिडियो हालेको भए राम्रो हुन्थ्यो, यसअघि कालोपत्रे गर्न अलकत्रा विछ्याएको सडकको फोटो खिचेर सामाजिक सञ्जालमा अनावश्यक हल्ला गरियाे ।’ उपाध्यक्ष सागर मोक्तानले भ्रम छर्न जति कोसिस गरिरहेका छन्, त्यो कोसिस महाभारतको विकासको लागि पो गर्ने हो कि ? भन्दै प्रश्न गरेका गरेका छन् ।
उनले भने, ‘हुन त विरोध र समर्थन हरेक काममा हुन्छ । हामीले त्यो बुझेका छौं । तर केका लागि विरोध र केमा समर्थन भन्ने कुरा चाहिं विरोध र समर्थन गर्नेको चेतमा भर पर्छ । आफु राम्रो देखाउन कै लागि अरुलाई नराम्रो देखाउने अनि बिरोधकै लागि मात्र बिरोध यो त मनरोगी होइन र ? सत्य तथ्य खबर जनतामा सम्प्रेषण गर्नु सबैको कर्तव्य हो । तर यहां त वास्तविकता भन्दा फरक तरिकाले प्रचार गरि महाभारतबासीलाई भ्रम छर्ने जुन काम भैरहेको छ त्यो गलत छ । त्यो धेरै दिन टिक्दैन । वास्तविकता जनतालाई थाहा छ ।’
महाभारतको विकास र समृद्धीको लागि एक भएर सहभागि बन्न मोक्तानले अनुरोध गरे । अनुगमन र खबरदारी सँगसँगै अगाडि बढाउन उनले आग्रह गरेका छन् ।
महाभारत गाउँपालिकाको केन्द्र देवीटारदेखि तीनखुट्टेसम्म पिचको काम प्रारम्भ भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा पिच प्रारम्भ गरिएको छ । ८ दशमलव ५ किलोमिटर सडकको बढीमा १ किलोमिटर मात्रै पिच सम्पन्न भएको छ । पिचका लागि अलकत्रा विछ्याउँदा विछ्याउँदै बर्खा लागेको र बर्खामा पिच गर्न नमिल्ने भएकोले लगभग ५०–६० मिटरमा अलकत्रा मात्रै हालेर छोडिएको थियो । त्यही फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरिएको हाे ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google