
काभ्रे । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिचाई मन्त्री तिर्थ लामाले अनुशासित खेलाडीले मात्रै देशकाे नाम उचाइमा पुर्याउन सक्ने बताएका छन् । पनौतीमा सुर भएकाे ‘योगेन्द्र स्मृती कप’ फुटबल प्रतियोगिताकाे उद्घाटन गर्दै मन्त्री लामाले यस्ताे बताएका हुन् । पनौतीस्थित सरस्वती व्याईज क्लबले २०७९ चैत्र २५ गते दिवंगत भएका स्व.खेलाडी योगेन्द्र तामाङको सम्झनामा ‘योगेन्द्र स्मृती कप’ प्रतियोगिता आयोजना गरेको हो ।
साे क्रममा मन्त्री लामाले अनुशासित खेलाडीले मात्रै देश बिकास गर्न सक्ने भन्दै खेल क्षेत्रको बिकासमा लाग्न अनुरोध गरे । उनले पनौती क्षेत्रीय रंगशालाको विकासको लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।
कार्तिक ३ गतेसम्म पनौतीस्थित क्षेत्रिय रङ्गशालामा हुने प्रतियोगितामा २० टिमको सहभागिता रहेको कार्यक्रम संयोजक सुवास श्रेष्ठले जानकारी दिए । नकआउटका आधारमा हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख, दोस्रोले नगद ५० हजार रुपैंया सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक श्रेष्ठले बताए । उनका अनुसार, प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडिलाई नगद पुरस्कार समेत प्रदान गरिनेछ ।
पनौती नगर प्रमुख रामशरण भण्डारीले जग्गा विवादका कारण पनौती क्षेत्रीय रंगशाला विस्तार र बिकास गर्न नसकिएको भन्दै पारिवारिक विवाद मिलाएर निर्माणमा सघाउन सम्बन्धित परिवारलाई अनुरोध गरे । खेल पूर्वाधार रहेका कारण विभिन्न तहका प्रतियोगिता पनौतीमा सञ्चालन गर्न सकेको भन्दै उनले खेल क्षेत्रलाई सकेको सहयोग गर्ने बताए । नगर उपप्रमुख गीता बन्जाराले नीति, विधि र बजेटमा खेल क्षेत्रलाई केहि न केही सम्बोधन गर्ने बताइन् ।
कार्यक्रममा पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, पनौती ४ का वडाध्यक्ष दिपकप्रसाद दाहाल, क्लबका कार्यक्रम संयोजक सुबास श्रेष्ठ, सदस्य प्रतीक महत लगायतले खेल क्षेत्रको विकासको लागि सबैकाे सहयोग अनिवार्य भएकाे बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google