
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले १९ महिला क्रिकेट खेलाडीलाई दिएको बार्षिक सम्झौताको सूची सार्बजनिक गरेको छ । क्यानले ए, बी, सी र डी गरी चार तहमा खेलाडीलाई बर्गीकरण गरेर खेलाडीसँग बार्षिक सम्झौता गरेको हो ।
जसअनुसार महिलातर्फ पूजा महतो ‘ए’ ग्रेडमा छिन् । सिनियर टिमकी कप्तान इन्दु वर्मासहित पुजा, पूर्व कप्तान रुविना क्षेत्री र पूर्व उपपक्तान सीता राना मगर ग्रेड ‘ए’ मा छन् । यसअघि ग्रेड सी मा रहेकी पुजा फड्को मार्दै ए मा पुगेकी हुन्। उनकै कप्तानीमा नेपालको यू१९ महिला टोलीले पहिलो पटक आईसीसी यू–१९ महिला क्रिकेट विश्वकप खेलेको थियो। ग्रेड ‘बी’ मा कविता जोशी मात्र छिन् भने ग्रेड ‘सी’ मा कविता कुँवर र सम्झना खड्का छिन् ।
यसअघि कविता कुँवर ग्रेड ‘बी’ मा थिइन् । यसअघि ग्रेड ‘डी’ मा रहेकी कविता जोशी भने ग्रेड ‘बी’ मा पुगेकी छन् । ग्रेड ‘डी’ मा १२ खेलाडी छन् । जसमा राष्ट्रिय टिमकी विन्दु रावल, रोमा थापा र इश्वरी विष्ट छन् भने यू–१९ राष्ट्रिय टिमका ९ खेलाडी समावेश छन् ।
९ खेलाडी नै पहिलो पटक ग्रेड ‘डी’ मा समावेश भएका हुन् । जसमा एलिसा यादव, सना प्रविन, रिया शर्मा, सिमाना केसी, सावित्री धामी, कृष्मा गुरुङ, ज्योत्स्निका मरासिनी, रचना चौधरी र मनिषा उपाध्याय छन्। क्यानले ‘ए’ सूचीमा रहेका ४ महिला खेलाडीलाई प्रतिमहिना ५० हजार, ‘बी’ सूचीमा रहेका एक खेलाडीलाई प्रति महिना ३५ हजार, ‘सी’ सूचीमा रहेका २ जनालाई प्रति महिना २५ हजार र ‘डी’ सूचीमा रहेका १२ खेलाडीलाई प्रति महिना २० हजार दिने जनाएको छ । क्यानले यो सूचीमा पहिलो ६ महिनापछि पुनर्मूल्यांकन गर्ने जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google