
काठमाडौँ । टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पछ्याएको हो । नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ५४ रन बनाए । विक्रमजित सिंहले २८ बलमा २२ रन जोडे । साइब्रान्ड एन्जलब्रर्चटले १६ बलमा १४ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा ५ चौका हिर्काए । खेलमा खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो । भुर्तेल ७ रन तथा आसिफ शेख ४ रन बनाएर आउट भए ।
करन केसीले १७ तथा गुल्सन झाले १४ रनको योगदान दिए । अनिल शाहले १२ बलमा ११ रन जोडे । त्यस्तै कुशल मल्लले ९ बलमा ९ रन बनाएर आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले ३–३ विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले २–२ विकेट लिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google