काठमाडाैं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको विश्व वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । यसअघि चैत १ गते अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको वरीयतामा नेपाल १६औँ स्थानमा उक्लिएको थियो ।
सात दिनपछि फेरि वरीयता सुधार गर्दै नेपाल १५औँ स्थानमा उक्लिएको हो । नेपालले ओमानलाई उछिन्दै एक स्थान सुधार गरेको छ । नेपालले ४० खेलबाट १२३८ अंक पाउँदा ३१ रेटिङ पाएको छ । १६औँ स्थानमा रहेको ओमानको ३० खेलबाट ९१९ अंक पाउँदा ३१ नै रेटिङ छ । १७औँ स्थानमा नामिबिया, १८औँ स्थानमा अमेरिका, १९औँ स्थानमा यूएई र २०औँ स्थानमा पपुवा न्युगिनी रहेका छन् ।
एसोसिएटतर्फ नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा एसोसिएटतर्फ स्कटल्यान्ड पहिलो र नेदरल्यान्ड्स दोस्रो स्थानमा छन् । विश्व वरीयतामा स्कटल्यान्ड १२, नेदरल्यान्ड्स १४औँ स्थानमा छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको शीर्ष स्थानमा भारत छ । दोस्रो स्थानमा अस्ट्रेलिया रहँदा तेस्रो स्थानमा न्युजिल्यान्ड, चौथोमा इंग्ल्यान्ड, पाँचौँमा पाकिस्तान, छैटौँमा दक्षिण अफ्रिका, सातौँमा बंगलादेश, आठौँमा श्रीलंका, नवौँमा वेष्ट इन्डिज, १०औँ स्थानमा अफगानिस्तान र ११औँ स्थानमा आयरल्यान्ड रहेका छन् ।
ब्याटिङतर्फ विश्व वरीयतामा नेपालका कप्तान रोहितकुमार पौडेल ५७औँ र आसिफ शेख ६७औँ स्थानमा यथावत् छन् । यता, बलिङतर्फ सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी यथावत् रहँदा करण केसी एक स्थान माथि उक्लिएका छन् भने सोमपाल कामी एक स्थान तल झरेका छन् । सन्दीप २२औँ, दीपेन्द्रसिंह ऐरी ५६औँ स्थानमा छन् । सोमपाल एक स्थान तल झर्दै ६७औँ स्थानमा पुग्दा करण एक स्थान सुधार गर्दै ९६औँ स्थानमा छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google