काठमाडौं । नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो । युएईको अजमानस्थित द सेभेन स्टेडियममा आज टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले ८४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १४ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्यो ।
नेपालका लागि साना प्रवीणले सर्वाधिक ३५ रन बनाइन् । कप्तान पूजा महतोले १८ बलमा ४ चौकाको मद्दतले २१ रन बनाइन् । त्यस्तै, सोनी पाख्रीनले १३ तथा सावित्री धामीले १२ रनको योगदान दिइन् । नेपालले अतिरिक्त ५ रन प्राप्त गर्यो । युएईका लागि मेहक ठाकुरले दुई विकेट लिइन् । त्यसअघि, घरेलु टोली युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो ।
युएईका लागि समाइरा धरनिधर्कले सर्वाधिक ३१ रन बनाइन् । उनले ४८ बलमा एक चौकाको मद्दतले ३१ रन बनाएकी हुन् । यस्तै, रिनिता राजितले १८ बलमा दुई चौकाको मद्दतले २० रन बनाइन् । युएईका लागि लावन्या केनी र इन्धुजा नन्दकुमारले समान १०–१० रनको योगदान दिए ।
त्यस्तै, आयुषी महेशले तीन र अवनी सुनिल पाटिलले एक रन बनाए । युएईका एमिली थोमस, मेहक ठाकुर, अल मसीरा जहाँगीर, इशिता राजित र नेहा कुमारीले एक रन पनि जोड्न सकेनन् । युएईले अतिरिक्त ८ रन प्राप्त गर्यो ।
नेपालका लागि कृश्मा गुरुङले सर्वाधिक ४ विकेट लिइन् । त्यस्तै, रिया शर्मा र सीमा केसीले समान दुई–दुई विकेट लिए भने रचनाकुमारी चौधरीले एक विकेट लिइन् ।
यही कात्तिक २१ गतेदेखि सुरु भएको एसिया छनोटमा नेपालले यसअघि पाँचमध्ये चार खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो ।
तेस्रो खेलमा नेपालले घरेलु टोली युएईसँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा १३ रनले पराजित भएको थियो । आइतबार भएको चौथो खेलमा नेपालले थाइल्याण्डलाई १०६ रन र मंगलबार भएको पाँचौँ खेलमा कुवेतलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
आजको जितसँगै नेपालले सन् २०२५ मा मलेसियामा हुने आइसिसी यु–१९ महिला टी–२० विश्वकपका लागि छनोट भएको छ । नेपाल विश्व कपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको छ । विश्व कपमा नेपालको पहिलो खेल १८ जनवरीमा बंगलादेशविरुद्ध रहेको छ ।
महिला यु– १९ टि– २० विश्वकपमा छनोट युएईको अजमानमा बुधबार भएको खेलमा घरेलु टोली यूएईमाथि ८ विकेटको जित हात पार्दै नेपालले विश्व कपमा स्थान बनाएको हो । नेपालले पहिलो पटक विश्व कपमा स्थान बनाएको हो । सन् २०२३ मा भएको विश्व कपमा नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।