काठमाडौं । गायक हेमन्त शर्माले नेपाली क्रिकेट टिमलाई ५० हजार रुपैयाँ दिएका छन् । उनले मंगलबार क्रिकेट टिमका कप्तान रोहित पौडेल र खेलाडी कुशल भुर्तेललाई भेटेर पूर्वघोषित रकम हस्तान्तरण गरेका हुन् । शर्माले फेसबुकमा स्टाटस लेख्दै रकम हस्तान्तरण गरेकोबारे जानकारी दिएका छन् ।
‘अस्ति बोलेको कुरा पूरा गर्दा खुसी मिल्यो । उहाँहरूसँग मीठा कुराकानी पनि भए । खुसी त त्यतिबेला अझ दोब्बर भयो जब उहाँहरूले दाइको यो सहयोगमा हामीले अरू थपेर अस्ति रातिको भूकम्पले क्षतिग्रस्त भएको क्रिकेटर अनुज चुनाराको घर मर्मतका निम्ति पठाउँछौँ भन्नुभयो,’ उनले फेसबुकमा लेखेका छन् ।
जाजरकोट केन्द्रबिन्दु गरी शुक्रबार राति गएको भूकम्पले क्रिकेटर अनुज चुनाराको घर क्षतिग्रस्त भएको छ । शर्माले आईसीसी टी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई हराएपछि ५० हजार पुरस्कार दिने घोषणा गरेका थिए । यूएईसँगको खेल जित्दै नेपाल विश्वकपमा छनोट भइसकेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google