काठमाडौँ । नेपाल उसु महासंघका पदाधिकारीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङको कार्यलयमा तोडफोड गरेका छन् ।
नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भएको नेपाल उसु महासंघका पदाधिकारीले त्रिपुरेश्वरस्थित राखेप कार्यलयमा राखेप सदस्य सचिव टंक लाल घिसिङलाई ज्ञापन पत्र बुझाउने क्रममा उक्त घटना भएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको कार्यकक्षमा तोडफोड भएको छ । शुक्रवार वीरबहादुर तामाङ अध्यक्ष र लाक्पाछिरिङ लामा महासचिव रहेको उसु महासंघले तोडफोड गरेको हो ।
उनीहरू नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा सहभागी भएको नेपाल उसु महासंघसम्बद्ध छन् । यता शैलेश कर्माचार्य कार्यवाहक अध्यक्ष र नवराज ढुंगाना विश्वास महासचिव रहेको नेपाल उसु महासंघले भने उक्त घटनाप्रति निन्दा व्यक्त गरेको छ ।
कर्माचार्यको नेतृत्वमा रहेको महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै तोडफोडमा सहभागी समूहको महासंघलाई २०८० भदौ १३ गते नै उच्च अदालत पाटनले गैरकानुनी ठहर गरेको जनाएको छ ।
`नेपाल उसु महासंघ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ अनुसार २०७९ साल चैत्र ४ गते सम्पन्न वैधानिक निर्वाचन मार्फत निर्वाचित भएको हो ,´ विज्ञप्तिमा भनिएको छ- `यसबारे खेलाडी, प्रशिक्षक, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, र नेपाल ओलम्पिक कमिटी सबै जानकार छन्। तर, हाल महासंघलाई बदनाम गर्ने नियतले विभिन्न गैरकानुनी गतिविधिहरू भइरहेका छन्, जसप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। मिति २०८१ माघ २५ गते राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको कार्यकक्षमा नेपाल उसु महासंघलाई बदनाम गर्ने उद्देश्यले गुण्डागर्दी शैलिको घटनाको महासंघ घोर निन्दा गर्दछ। महासंघको लेटरहेड र छापको दुरुपयोग गर्दै गैरकानुनी कार्यहरू भइरहेका थियो । जसलाइ उच्च अदालतले २०८० भदौ १३ गते गैरकानुनी ठहर गरिसकेको छ ।´
कर्माचार्यको नेतृत्वमा रहेको महासंघले सरकारी सम्पती तोडफोड गर्नेहरूलाई कारबाही गर्न सरकारसमक्ष माग गरेको समेत छ । त्यस्तै राखेपले उक्त घटनामा संग्लनविरुद्ध कालीमाटी प्रहरी वृत्तमा उजुरी दिइसकेको जनाएको छ ।
नेपाल ओलम्पिक कमिटीले उसु महासंघसँग कुनै सम्बन्ध नभएका व्यक्तिलाई महासंघको प्रतिनिधि बनाएर निर्वाचनमा सहभागी गराएको समेत विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google