पपुवा न्युगिनीविरुद्ध नेपालको सहज जित

दर्पण दैनिक २९ फाल्गुन २०७९,१४:१५
post

काठमाडौं । आसिफ शेखको विस्फोटक ब्याटिङ र सन्दीप लामिछानेको घातक स्पिनको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीमाथि ९ विकेटको सानदार जित हात पारेको छ ।

यो जितसँगै नेपाल विश्वकप छनोटको नजिक पुगेको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै हुने यूएईसँगको खेल जितेमा नेपालले आउँदो जुन जुलाईमा जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोट खेल्न पाउने छ ।

नेपाली बलर हावी भएपछि ९५ रनमा अल आउट भएको पीएनजीबाट पाएको लक्ष्य नेपाली ब्याटरले मात्र ४६ बल खेलेर पूरा गरे ।

ओपनर आरिफ शेखले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा नट आउट ५३ रन बनाए । त्यस क्रममा उनले ८ चौका र ३ छक्का हाने ।

अर्का ओपनर कुशल भुर्तेलेका नट आउट रहने चाहना भने पीएनजीका बलरले पूरा हुन दिएनन् । नेपालको ५१ रन हुँदा कुशल व्यक्तिगत ३३ रनमा आउट भए । १४ बल मात्र खेलेका उनले ४ चौका र २ छक्का हानेका थिए ।

कुशल आउट भएपछि ब्याटिङमा आएका कुशल मल्ल १२ रनमा नट आउट रहे ।

स्पिनरको घातक बलिङ

यसअघि सोमबार कीर्तिपुरमा टस जितेर फिल्टिङ रोज्ने नेपालको निर्णयलाई सही सावित गर्दै स्पिनरहरुले पीएनजीलाई सुरुदेखि नै दबावमा राखेपछि नेपालले ९६ रनको लक्ष्य पाएको थियो ।

लामिछानेले १० ओभर बलिङ गर्दै २५ रन दिएर ५ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले २–२ तथा सोमपाल कामीले १ विकेट बाँडे ।

ललित राजवंशीले चौथो ओभरको तेस्रो बलमा नेपालका लागि पहिलो सफलता दिलाए । पीएनजीको कुल स्कोर ५ रन हुँदा किप्लिन डोरिगा व्यक्तिगत २ रनमा आउट भए ।

सुरुदेखि नै नेपाली बलरसामु खुलेर खेल्न नसकेका पीएनजीका ब्याटर पहिलो विकेट गएपछि झनै दबावमा परे । त्यसको फाइदा उठाउँदै सोमपाल कामीले सातौ ओभरको पाँचौ बलमा हिरी हिरीलाई व्यक्तिगत १४ रनमा आउट गरे ।

चौथोँ ओभरमा बल हात पारेका स्पिनर लामिछानेले अन्तिम बलमा सेसे बाउलाई १८ रनमा आउट गरे । उनले नै २० औं ओभरको पहिलो बलमा असद भालालाई चौथो विकेटका रुपमा २० रनमा आउट गरे । यो २० रन पीएनजीका खेलाडीले बनाएको सबैभन्दा उच्च स्कोर बन्यो । चौथो विकेट गुमाउँदा स्कोर बोर्डमा पीएनजीको ७० रन मात्र थियो ।

त्यसपछि ९ रन जोड्दा पीएनजीले थप २ विकेट गुमायो । २३ औं ओभरको पाँचौ बलमा ललितले (रिले हाकुरे ४ रन) र २४ औं ओभरको पहिलो बलमा सन्दिपले (चार्ल्स अमिनी १६ रन) विकेट लिए ।

२७ औं ओभरको चौथो बलमा कुशल मल्लले नोर्मान भानुलाई सातौं विकेटका रुपमा नोर्मान भानुलाई आउट गर्दा पीएनजीको स्कोर ८२ रन मात्र थियो ।

त्यसपछिका २ ओभरमा पीएनजीका ब्याटरले क्रिजमा टिक्ने प्रयास गरे पनि उनीहरुको त्यो प्रयासलाई ३० औं ओभरमा लामिछानेले असफल पारे । ३० औं ओभरको चौथो बलमा हिला भारेले चौका हाने पनि त्यस लगत्तैको बलमा उनी आउट भए ।

३१ औं ओभरको चौथो बलमा मल्लले आफ्ना लागि दोस्रो र नेपालका लागि नवौं विकेट लिए । जतिबेला स्कोरबोर्डमा पीएनजीको ९४ रन थियो । बाँकी रहेको एक विकेट सन्दीप लामिछानेले ३२ औं ओभरको अन्तिम बलमा झारे र पाहुना टिमलाई ९५ पभेलियन फर्काएका थिए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: