काठमाडौँ । घरेलु मैदानमा जारी साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि आज (बुधबार) नेपाल बंगलादेशसँग भिड्दै छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियनसिपको फाइनल खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने बताए पनि मैदान खराब भएकाले एन्फा कम्प्लेक्स मैदानमै हुने भएको हो ।
सेमिफाइनलमा भुटानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो। समूह चरणमा बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा भिडेको थियो ।
समूह उपविजेता बंगलादेशले साविक विजेता भारतलाई हराउँदै नेपालसँगको भेट पक्का गरेको हो ।
सन् २०१७ मा भएको साफ यू-१८ को उपाधि जितेयता नेपाल च्याम्पियन बन्न सकेको छैन ।
अत: यसपटक घरेलु मैदानमा बंगलादेशलाई हराएर नेपाल उपाधिको नयाँ इतिहास रच्न चाहन्छ । तर बलियो टोली भारतलाई हराएको बंगलादेश नेपालका लागि सहज छैन ।
सिनियर होस् वा उमेर समूह, नेपालका लागि पछिल्लो समय दक्षिण एसियामा एक समय कमजोर मानिने टोली पनि चुनौती बनिरहेका छन् ।
त्यसैले आजको फाइनल प्रतिस्पर्धामा नेपाली युवा टोली फिनिसिङ लाइनमा देखिएको कमजोरी सुधार्दै जित्ने रणनीतिका साथ मैदानमा उत्रन जरुरी छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google