
काठमाडाैं । स्पेनले युरोकपको उपाधि चौंथो पटक जितेको छ । आइतबार राति भएको फाइनलमा स्पेनले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै अपराजित रहँदै च्याम्पियन बनेको हो । स्पेनले १२ वर्षपछि उपाधि जितेको हो। इंग्ल्यान्ड भने लगातार दोस्रो पटक फाइनलमा स्तब्ध बन्यो । अघिल्लो संस्करणमा इटालीसँग पराजित भएको इंग्ल्यान्ड यो पटक स्पेनसँग स्तब्ध बन्यो ।
जर्मनीको राजधानी बर्लिनस्थित ओलम्पिया स्टेडियममा भएको खलमा निर्धारित समयको ४ मिनेट बाँकी रहँदा मिकेल ओयरजावलले गरेको गोल निर्णायक बन्यो । त्यसअघि पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिएको थियो । लामिन यमलको पासमा निको विलियम्सले ४७ औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए ।
तर खेलमा फर्कने क्रममा ७३ औं मिनेटमा सब्सटिच्युट कोले पाल्मरले जर्ज बेलिङ्घमको पासलाई २२ यार्डबाट गरेको प्रहार गोलमा परिणत हुँदा खेल बराबरीमा ल्याउन इंग्ल्यान्ड सफल भएको थियो । तर बराबरीलाई अन्तिम केही मिनेट जोगाउन इंग्लिस टोली असफल भयो । ८६ औं मिनेटमा ओयरजावलले गोल गर्दै स्पेनको उपाधि निश्चित गरे ।
स्पेनले यसअघि सन् १९६४ मा भएको युरो कपको दोस्रो संस्करणो उपाधि जितेको थियो । त्यसयता उसले सन् २००८ मा अस्ट्रिया र स्विट्जरल्याण्डले संयुक्त रुपमा आयोजना गरेको युरो कपमा जर्मनीलाई हराएर दोस्रो उपाधि जित्दा सन् २०१२ मा पोल्याण्ड र युक्रेनले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा इटालीलाई फाइनलमा हराएर लगातार दोस्रो र समग्रमा तेस्रो पटक उपाधि जित्यो । यो उसको चौंथो युरोकप उपाधि हो । इंग्ल्यान्ड भने पहिलो युरोकप जित्ने लक्ष्यमा रहेपनि सफल हुन सकेन् ।
उत्कृष्ट युवा खेलाडी बने यामल
स्पानिस युवा स्टार लामिन यामलले युरो २०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । स्पेनलाई कीर्तिमानी चौथो पटक युरो उपाधि जिताउन सनसनी प्रदर्शन गरेका यी १७ वर्षीय युवा स्टारले पहिलो पटक युरो खेल्दै उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका हुन् ।
युरो २०२४ मा उनले १ गोल गरेका थिए भने ४ असिस्ट समेत गरेका थिए । यस संस्करणको युरोमा उनी सर्वाधिक असिस्ट गर्ने खेलाडी समेत हुन् । उनले प्रतियोगिताभर कूल ५०७ मिनेट खेलेका थिए । जसमा उनले प्रतियोगिताकै सर्वाधिक ३२ ड्रिबल गरेका थिए ।
यामलले सेमिफाइनलमा फ्रान्स विरुद्ध उत्कृष्ट गोल गरेका थिए । एक गोलले पछि परेको अवस्थामा उनले स्पेनका लागि बराबरी गोल गर्दै खेलमा फर्काएका थिए । उनले स्पेनले खेलेको सातवटै खेल खेलेका थिए । जसमा समूह चरणमा क्रोएसियालाई ३-० ले पराजित गरेको खेलमा डेब्यु गर्दै युरोको सबैभन्दा कान्छो खेलाडी खेलाडीको कीर्तिमान बनाएका थिए । जतिबेला उनी १६ वर्ष ३३८ दिनका थिए ।
यस्तै सेमिफाइनलमा फ्रान्स विरुद्ध गोल गर्दै उनी युरो इतिहासमा गवल गर्ने पनि सबैभन्दा कान्छो खेलाडी बने । फ्रान्स विरुद्ध गोल गर्दा उनको उमेर १६ वर्ष ३६२ दिन थियो । फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्नुअघिल्लो दिन मात्र उनले आफ्नो १७औं जन्मदिन मनाएका थिए ।
यामल युरोकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्ने तेस्रो र स्पेनको दोस्रो खेलाडी हुन् । सन् २०१६ देखि युरोमा उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान गर्न थालिएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google