काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ का लागि काठमाडौं स्पाइकर्सले टर्किस खेलाडी पेलिन एरोक्टेलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।
बायाँ हाते अपोजिट हिटर पेलिन एरोक्टे आफ्नो शक्तिशाली अट्याक र बलियो डिफेन्स क्षमताका लागि परिचित रहेकोले उनको आगमनले टिम बलियो हुने काठमाडौं स्पाइकर्सको विश्वास छ ।
पेलिनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गरिसकेकी छिन् । उनले युरोपियन यू १६ च्याम्पियनसिप, यूरोपियन यू १७ च्याम्पियनसिप र विश्व यू १९ च्याम्पियनसिप जस्ता प्रतिष्ठित टुर्नामेन्टहरूमा टर्कीको उमेर समूहबाट खेलिसकेकी छन् । यस्तै उनले सन् २०२२ मा यू १८, यू १९ र यू २१ मा युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी थिइन् ।
पेलिनसँग क्लबस्तरमा टर्किस काडिनलार भलिबल लिग, टर्की कप, टर्की काडिनलार वन लिगी र टर्की कादिनलर भलिबल टु लिगी कपमा भाग लिएको अनुभव छ ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा यही असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने पहिलो संस्करणको इडब्लुभिएलमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्सले उद्घाटन खेलमा ललितपुर क्विन्ससँग खेल्दै लिगको यात्रा सुरु गर्नेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google