काठमाडाैं । विश्वकप २०२६ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बिहीबार यूएईसँग प्रतिस्पर्धा गर्दै छ। खेल साउदी अरबको दम्मामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । समूहमा नेपालले ४ खेल खेल्दा एक अंक पनि जोड्न सकेको छैन भने तेस्रो चरण नपुग्ने पक्का भइसकेको छ । यता यूएई पनि ४ खेल खेल्दै सबै जितेर तेस्रो चरण पुगिसकेको छ ।
नेपालले पहिलो खेलमा यूएईसँग ४–०, दोस्रो खेलमा यमनसँग २–०, तेस्रो खेलमा बहराइनसँग ५–० र चौथो खेलमा बहराइनसँग नै ३–० गोलको हार ब्यहोरेको थियो। समूहमा हरेक टोलीले प्रत्येकसँग होम एन्ड अवेका आधारमा दुई दुई खेल खेलिरहेका छन् ।
नेपालले यूएईसँग हुन लागेको खेल घरेलु मैदानमा खेल्नुपर्ने भएपनि दशरथ रंगशाला तयार नभएको भनेर प्रश्न उठेपछि साउदी अरबमा आएर खेल्न लागेको हो । फिफा वरियतामा यूएई नेपालभन्दा एक सय ११ औँ स्थान माथि छ । यूएई ६७ र नेपाल एक सय ७८ औँ स्थानमा रहेका छन् ।