काठमाडाैं । विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । २०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै अमेरिकालाई स्तब्ध बनायो ।
नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७८ रन बनाए । त्यस्तै ओपनर कुशल भुर्तेलले ३९ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले पनि अविजित रहँदै ३९ रन बनाए ।
अमेरिकाका लागि सौरभ नेत्रवाल्कर, नोस्तुस केन्जिगे, निसर्ग पटेल र स्टिभनले एक–एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अल आउट हुँदै २०७ रन बनाएको थियो ।
अमेरिकाका लागि शायन जहंगिरले सर्वाधिक १०० रन बनाए । त्यस्तै अमेरिकाका सुशान्त मदानीले ४२ रन जोडे । गजानन्द सिंहले २६ र जेस्सी सिंहले १२ रन बनाउँदा अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि करण केसीले सर्वाधिक चार विकेट लिए । गुल्झन झाले तीन, दिपेन्द्र सिंह ऐरीले दुई तथा ललित राजवंशीले एक विकेट लिए ।
नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात् असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ । पहिलो खेलमा भने नेपाल जिम्बावेसँग पराजित बनकेो थियो ।
समूह ए मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् ।
हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ ।
सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google