काठमाडौं । अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाकाे भिसा एप्लाई गरेका थिए । जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अब प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् उनलाई भिसा दिलाउन पहल गरिने बताएका छन् । अदालतको निर्णय आउनुअघि नै लामिछानेले कीर्तिपुरमा नियमित प्रशिक्षण गरिरहेका थिए ।
अदालतको निर्णय आएपछि उनलाई विश्वकप प्रतियोगितामा खेल्न पठाउन खोजिएको थियो । क्यानले अदालतको निर्णयबारे जानकारी गराउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउने विषयमा पत्राचार गरेको बताएको थियो ।
क्यानका सचिव पारस खड्काले मङ्गलवार राति लामिछानेको भिसा प्रक्रिया सुरु भएको जानकारी दिएका थिए । लामिछानेलाई यसअघि सन् २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । तर दूतावासले त्यसमा त्रुटि भएको भन्दै पछि उनलाई भिसा दिएको थियो । अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको २० ओभरको विश्वकपमा नेपालले पनि सहभागी हुन लागेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google