अब प्रदेशका क्रिकेट खेलाडीहरूले पनि तलब पाउने, यी हुन थप निर्णयहरू

दर्पण दैनिक १३ भाद्र २०८१,२०:४२
post

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेशका खेलाडीलाई पनि मासिक पारिश्रमिक दिने निर्णय गरेको छ । 

बिहीबार बसेको क्यान कार्यसमिति बैठकले प्रत्येक प्रदेशका दुई महिला र तीन पुरुष गरी पाँच खेलाडीलाई मासिक १५ हजार तलब दिने निर्णय गरेको हो ।

सबै प्रदेशका गरी ३५ खेलाडीहरूको पारिश्रमिकबापतको रकम प्रदेशहरूमा पठाइने छ । खेलाडीहरूसँग प्रदेश क्रिकेट संघले नै सम्झौता गर्ने छ ।

क्यानका अनुसार, उनीहरूले भदौ १६ गतेदेखि लागु हुने गरी तलब पाउने छन् ।

प्रेस विज्ञप्ती

नेपाल क्रिकेट संघको मिति २०८१ साल भाद्र १३ गते बसेको केन्द्रीय कार्यसमितीको बैठकबाट देहाय अनुसार निर्णयहरु गरिएको छ ।

१. नेपाल क्रिकेट संघले ७ वटै प्रदेश क्रिकेट संघहरुलाई २ जना महिला र ३ जना पुरुष गरी प्रति प्रदेश ५ जना खेलाडीहरुलाई यहि सेप्टेम्बर १ देखि लागु हुने गरी १ वर्षसम्म जनही मासिक रु. १५,००० का दरले पारिश्रमिक उपलब्ध गराउने र ३५ जना खेलाडीहरुको पारिश्रमिक वापतको बजेट रकम प्रदेशहरुमा निकासा गरी सम्वन्धित प्रदेशहरुले नै खेलाडीसँग सम्झौता गरी पारिश्रमिक उपलब्ध गराउने निर्णय गरियो ।

२. हालै वेष्ट इण्डिज र अमेरिकामा सम्पन्न ICC Men's T20 Cricket World Cup मा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल राष्ट्रिय क्रिकेट टोलीमा समावेश खेलाडीहरु र मुख्य प्रशिक्षकलाई जनही रु. ३ लाखका दरले तथा अन्य सपोर्ट स्टाफहरुलाई जनही रु. १ लाख ५० हजारका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरियो ।

३. आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१, २०२४ सम्म काठमाण्डौमा आयोजना गर्न लागिएको नेपाल प्रिमियर लिग (NPL) मा ८ फ्रेन्चाईज टीमहरुको सहभागिता रहने निर्णय गरियो ।

४. वाई-वाई यु १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यहि सेप्टेम्बर/ अक्टोबरमा कोशी प्रदेशमा आयोजना गर्ने निर्णय गरियो ।

५. संघको वार्षिक कार्यक्रम अनुसार संचालन गरिने Elite Cup क्रिकेट प्रतियोगिता यहि अक्टोवर अन्ति सातादेखि मधेश प्रदेशको जनकपुर र विरगंजमा आयोजना गर्ने निर्णय गरियो ।

६. ICC U19 महिला विश्वकप एशिया क्वालिफायरको तयारी स्वरुप यहि सेप्टेम्बर १५ बाट दाङको लमहीमा प्रथम चरणको बन्द प्रशिक्षण संचालन गर्ने निर्णय गरियो ।

 

 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: