
काठमाडौं । नेपाललाई पराजित गर्दै हङकङले फ्रेन्डसिप कपको उपाधि जितेको छ । हङकङको मिसन रोड ग्राउन्डमा सम्पन्न खेलमा नेपाललाई घरेलु टोलीले ७३ रनले पराजित गर्दै उपाधि जितेको हो ।
हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले १६.४ ओभरमा सबै विकेट गुमाउँदै १३९ रन बनायो । नेपालका ओपनर कुशल भुर्तेल ४ बलमा २ रन बनाउँदै आउट भए । अर्का ओपनर विनोद भण्डारी र कप्तान रोहितकुमार पौडेलले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेसँगै नेपालले खेलमा फर्कने संकेत देखनएको थियो। तर, विनोद २२ बलमा ४ चौका र ३ छक्कासहित ४३ रन बनाएर आउट भए। कप्तान रोहितले २३ बलमा ३० रन बनाए ।
तेस्रो विकेटका लागि कप्तान पौडेल र आरिफ शेखले ५३ रनको साझेदारी गरे । तर, एजाज खानले एकै ओभरमा आरिफ तथा सन्दीप जोरालाई आउट गराएसँगै हङकङ खेलमा फर्कियो ।
आरिफले २१ बलमा ४ चौका र २ छक्कासहित ३८ रन बनाए । हङकङका लागि एजाज खानले ४ विकेट लिए । इहाशान खानको नाममा ३ विकेट रह्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनायो ।
हङकङका बाबर हायातले ४९ बलमा ३ चौका र १३ छक्कासहित ११० रनको शतकीय इनिङ्स खेले । टी२० आई करिअरमा उनको यो दोस्रो शतक हो।
अंशुमन रथले ३२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३९ रन बनाए । ओपनर मार्टिन कोट्जे ३१ रन बनाए ।
तेस्रो ओभरको दोस्रो बलमा नै विकेट लिएर हङकङलाई नेपालले दबाबमा ल्याएको थियो । पाँचौ ओभरमा ३४ रन बनाउँदै हङकङ दबाबमा आए पनि तेस्रो विकेटका लागि बाबर हायात र रथबीच ८० रनको साझेदारी भएपछि नेपाल दबाबमा आएको थियो ।
नेपालका लागि आकाश चन्दले ३ विकेट लिए । आरिफ शेख, प्रतिश जिशी र राशिद खानको नाममा १\१ विकेट लिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google