
काठमाडौं । श्रीलंकाले महिला एसिया कप–२०२४ को उपाधि जितेर इतिहास रचेको छ । दम्बुलामा भएको फाइनलमा घरेलु टोली श्रीलंकाले भारतलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो । श्रीलंकाको जितमा कप्तान चमारी अथापथ्थुले ६१ रन र हर्षिता समराविक्रमाले ६९ रनको शानदार अर्धशतकीय इनिङ्स खेले ।
उनीहरुले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । २००४ बाट सुरु भएको महिला एसिया कपमा श्रीलंका पहिलो पटक च्याम्पियन बनेको हो । यसअघि श्रीलंका पाँच पटक उपविजेता बनेको थियो । भारत भने केवल दोस्रो पटक एसिया कपको फाइनलमा पराजित भएको छ । यसअघि २०१८ मा बंगलादेशसँग पराजित भएको थियो । भारतले सात पटक एशिया कपको उपाधि जितेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो। उसका लागि स्मृति मन्धनाले ४७ बलमा ६० रनको विष्फोटक इनिङ खेल्दा १० चौका प्रहार गरेकी थिइन् । त्यस्तै, ऋचा घोषले ३० रन बनाउँदा जेमिमा रोड्रिग्वेजले २९ रन बनाइन् । श्रीलंकाका लागि कभिसा दिलहरीले २ विकेट लिँदा उदेसीका प्रवोधानी, सचिनी निसन्सलाले समान १ विकेट लिएकी थिइन् ।
१६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले उत्कृष्ट प्रदर्शन गर्दै ८ बल बाँकी हुँदै २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । श्रीलंकाले ७ रनमै पहिलो विकेट गुमाए पनि दोस्रो विकेटका लागि उच्च रनको साझेदारी गर्यो । उसका लागि कप्तान चमारी अथापथ्थुले ४३ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६१ रन बनाउँदा हर्षिथा समराविक्रमाले ५१ बलमा ६ चौका र २ छक्काको सहयोऊमा ६९ रनको अविजित इनिङ खेलिन् । उनलाई कभिसा दिलहरीले १६ बलमा ३० रन बनाएर अविजित साथ दिएकी थिइन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google