खानीखोलाका जेष्ठ नागरिकलाई छाता र लौरो, जनप्रतिनिधिले सम्झेकोमा जेष्ठ नागरिक खुशी

दर्पण दैनिक ६ जेष्ठ २०८०,२१:४८
post

काभ्रे । जिल्लाका दुर्गम गाउँका जेष्ठ नागरिकहरुको साहाराको रुपमा देशमै नमुना कार्यक्रम छाता र टेक्ने लौरो (लट्ठी) वितरण गरेको छ । काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष निशान मोक्तानले वडाभित्रका ६३ जना जेष्ठ नागरिकलाई छाता र लौरो वितरण गरिएको जनकारी दिए ।  उनका अनुसार वडाभरि रहेका जेष्ठ नागरिकहरुलाई वर्षाद् लक्षित गरी पानी पर्दा ओत लाग्ने छातासँगै हिँडडुल गर्न सहाराका लागि लौरो वितरण गरिएको हो । 

‘जेष्ठ नागरिकहरुलाई पानी पर्दा ओत लाग्ने छाता र हिड्डुल गर्न सहज होस् भनी लौरो वितरण गरिएको छ ।’ वडाध्यक्ष मोक्तानले भने, ‘वडाको सानो सहयोगले उहाँहरु (जेष्ठ नागरिक)को मुहारमा देखिएको खुशीले मलाई सन्तुष्ट बनाएको छ । अझै केही गर्ने उर्जा थपेको महसुस गरेको छु ।’

कार्यक्रममा खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले ६० वर्ष नाघेका बृद्धबृद्धाको घुम्ती शिविरमार्फत् नियमित मासिक रुपमा स्वास्थ्य परिक्षण लगायतका कार्यबाट गाउँपालिका सरकार नागरिक समस्या समाधान गर्ने साझा चौतारी बन्ने उद्देश्यले अघि बढिरहेको अवस्थामा वडाले छाता र लौरो वितरण गरेकोप्रति खुशी व्यक्त गरे । उनले आगामी दिनमा गाउँपालिकाले जेष्ठ नागरिकको पक्षमा थप कार्यक्रम ल्याउने बताए । उनले छाता र लट्ठी वितरण गरेर वडा अधयक्ष मोक्तानसहितका वडा कार्यालयका टिमले समाजमा अनुकरणीय काम गरेको बताए । यो कार्यले जेष्ठ नागरिकलाई सेवा गर्नु सबैको दायित्व हो भन्ने सन्देश दिएको उनले बताए । 

वडाध्यक्ष मोक्तानले कान्छिमाया तामाङ फाउन्डेशनको सहयोगमा खानीखोला–४ स्थित् जगथलीमा एक कार्यक्रमबिच जेष्ठ नागरिकहरुलाई छाता र लौरो वितरण गरिएको बताए । आवश्यकताको आधारमा अन्य उमेर समूहका मानिसलाई पनि लट्ठी प्रदान गर्ने उनको भनाई छ । 

फाउन्डेशनका अध्यक्ष दिलबहादुर तामाङले भगवान खोज्न मन्दिरमा नभई घरभित्रैका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताए ।  वडा सचिव रामकृष्ण आर्यालले जेष्ठ नागरिकको पहिलो सहारा भनेकै छाता र लट्ठी भएको बताए । उनका अनुसार पुरुष २६ र महिला ३७ जना गरी ६३ जना जेष्ठ नागरिकलाई छाता र लट्ठी वितरण गरिएको छ ।

खानीखोला गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाका सहजकर्ता होम बहादुर वाईबाले नेतालाई जिताएर पठायौँ तर केही गरेन भन्ने गुनासो बढीरहेको बेला वडा अध्यक्ष मोक्तानको सक्रियताले वडाबासीको जनविकाको सवालमा नयाँ आशा पलाएको बताए । वर्षाद्को समयमा च्यातिएको लाष्टिक ओढेर हिड्नु पर्ने बाध्यतालाई छाता वितरणले निकै राहत पुगेको उनको भनाई छ ।

कार्यक्रममा खानीखोला–५ का वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तान, खानीखोला–४ का निवर्तमान वडाध्यक्ष वीरबहादुर वाईबा, घरेलुका प्रमुख यादवनाथ अचार्य, गाउँपालिकाको न्यायीक समिति सदस्य देवान लामा, नेकपा माओवादी केन्द्रका नेता दावा घिसिङ, नरबहादुर थिङ, नेकपा एमाले वडा कमिटीका इन्चार्ज नेत्र वाईबा, कुमारी माविका प्रधानध्यापक लालबहादुर घिसिङ, विर प्राविका प्रधानध्यापक भरत लामा लगायतका उपस्थिति रहेका थिए । जेष्ठ नागरिकहरुले छाता र लट्ठी पाउँदा समेत हर्षिद् देखिएका स्थानीयहरुले निर्वाचनमा सही मान्छेलाई भोट दिएर जिताएछौँ भन्ने महसुस भएको सुनाईन् ।


छाता र लौरो पाएको भन्दा जनप्रतिनिधिले सम्झेकोमा बढी खुशी

खानीखोला–४ जगथलीकी उमेरले ९६ वर्ष लागेकी कान्छीमाया माझीलाई नपुग्दो केही छैन् । इच्छाएको सबै परिवारले पूरा गरिदिएको छ । उनै माझी छाता र लौरो पाउँदा खुशीले गद्गद् थिए । ‘छाता र लौरो पाएको भन्दा पनि वडाध्यक्षको पहलमा वडा कार्यालयले जेष्ठ नागरिकहरुलाई सम्झेकोमा खुशी लागेको छ,’ उनले भनिन्, ‘यस्ता कार्यक्रमले गाउँको सरकारको प्रत्यक्ष अनुभूति महसुस हुँदो रहेछ ।’ 

गाउँपालिकाको ‘एकीकृत घुम्ती स्वास्थ्य सेवा’लाई लक्षित गर्दै उनले गाउँपालिकाले हामी जस्ता ६० वर्ष नाघेका बृद्ध÷बृद्धा तथा दीर्घ रोगीहरुको घर–घरमै पुगी मासिक रुपमा नियमित स्वास्थ्य परिक्षणले अझै बाँच्छु र उपचार अभावमा ज्यान घुमाउनु पर्दैन भन्ने लागेको सुनाईन् । माझी वडाभरकै सबैभन्दा जेष्ठ नागरिक हुन् ।

स्थानीय ८६ वर्षीय जंगेबहादुर स्याङ्तानले घरमा बनाएका समान्या लट्ठी केटाकेटीले बाँच्ने र कतै लागेर हराई दिने र गतिलो लट्ठी नहुँदा हिँड्न नसक्ने अवस्थामा लट्ठी सहयोगले निकै मद्दत पुगेको बताए । उनले भने, ‘सामान्य दाउराको लट्ठी टेकेर हिँड्दा लडिने अवस्था थियो, अब ढुक्क भएको छु ।’

८९ वर्षीया कइली माया वाईबाले सहयोग स्वरूप पाएको लौरोले आफूलाई राहत मिलेको बताईन् । उनले छातासँगै आधुनिक लट्ठी टेकेर हिँड्न पाउँदा खुसी लागेको बताईन् । छाता र लट्ठी पाउँदा हर्षिद देखिएका ८८ वर्षीय लाल बहादुर घलानले वर्षाद् सुरु भएको बेला छाता र लट्ठी बाँडेर राम्रो काम गरेको बताए ।  

त्यस्तै कार्यक्रममा भेटिएका आँपटारकी ८९ वर्षीया ठाकु माया मोक्तानले वडाध्यक्षले उपलब्ध गराएको लट्ठीको सहारामा आफुखुसी हिँड्न मद्दत मिलेको अनुभव सुनाए । उनले भनिन्, ‘निशान बाबु (वडाध्यक्ष निशान मोक्तान)ले छाता र लट्ठी दिएर सहारा दिनुभयो ।’ 

वडाध्यक्ष मोक्तानले जनताको सेवामा बढी सन्तुष्टि मिल्ने भन्दै चुनाव जनताले मत दिएर गरेको गुण तिरिरहेको महशुस भएको बताए । उनले जनताको सेवा तथा हकहितको निम्ति निरन्तर लागि रहने बताए ।

तलव भत्ताको रकम विद्यालय र टुहुरा विद्यार्थीलाई सहयोग 
यसअघि वडा अध्यक्ष निशान मोक्तानले गाउँपालिकाबाट मासिक पाउने तलब सुविधा बापत प्राप्त रकमबाट विद्यालय र टुहुरा विद्यार्थीलाई सहयोग गरेको थियो । 

वडाध्यक्ष मोक्तानले कुमारी माविलाई भित्ते घडी, टेलिफोन सहित वाईफाई राउटरसँगै ७ जना टुहुरा विद्यार्थीलाई विद्यालय पोशक लगायतका लत्ताकपडा वितरण गरेका थिए । त्यस्तै वीर प्रविलाई वाईट बोर्ड, ३ वटा भित्ते घडी सहित दुई जना टुहुरा विद्यार्थीलाई शैक्षिक सहयोग गरेको छ भने ज्ञानज्योति प्राविलाई ३ वटा भित्ते घडी लगायत उपलब्ध गराएका थिए । 

वडाध्यक्षले मोक्तानले जनताको सेवा गर्छु भनेर हिँडेको मान्छेले जनताकै करबाट तलब मात्रै खानु हुँदैन भनेर पाएको रकमबाट सहयोग गरेको बताए । उनले विद्यार्थी र ज्येष्ठ नागरिक लक्षित थप सहयोग गर्ने योजना रहेको बताए । 
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३