
काभ्रे । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले काभ्रेकाे विकासकाे लागी आफ्नो साथ रहने बताएका छन् । पनौती–१० मा स्थापना गरिएकाे सहकाली देवीको मन्दिर उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् । उनले साे क्षेत्रको जनप्रतिनिधिको रुपमा सो स्थानका हरेक विकासमा आफ्नो साथ रहने प्रतिबद्धता व्यक्त गरे । मन्त्री लामाले वडामा बाटो र खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।
सहकाली देवीको मन्दिर उद्घाटनसँगै परापूर्वकालदेखि स्थानीयले पूजा गर्दै आएको देवीस्थानमा मन्दिर स्थापना गरिएको हो । सहकाली देवीको पूजा गरे रोगव्याधी नलाग्ने, महामारी नफैलने, अनिकाल नहुने, मनोकामना पुरा हुने विश्वास रहँदै आएको सहकाली देवी मन्दिर निर्माण समितिका कोषाध्यक्ष उद्धव आचार्यले जानकारी दिए ।
मन्दिर निर्माणको लागि स्थानीय कृष्णबहादुर थापाले ५ आना, विदुरप्रसाद आचार्यले १ आना ३ पैसा जग्गा दान गरेका छन् । कार्यक्रममा जग्गादाता, चन्दादाता र मन्दिर निर्माणमा संयोजन र योगदान गर्ने माधव थापा लगायतलाई सम्मान गरिएको थियो ।
मन्दिर निर्माणको लागि बागमती प्रदेशले १० लाख, पनौती नगरपालिकाले ५ लाख र स्थानीयहरुबाट संकलित चन्दासमेत ३० लाखको लागतमा निर्माण गरिएको सहकाली देवी मन्दिर निर्माण समितिका अध्यक्ष केदारबहादुर थापाले जानकारी दिए ।
कार्यक्रममा पनौती वडा नम्बर १० का वडाअध्यक्ष मोहनबहादुर भण्डारी, नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले धार्मिक क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धन गर्नुपर्ने बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google