काभ्रे । यति बेला काभ्रेको खानीखोला ‘नक्कली नोट’ काण्डले तातेको छ । खानीखोला गाउँपालिका ७ का अध्यक्ष रामबहादुर मुक्तानले समािजक सञ्जाल फेसबुकमार्फत नक्कली नोटबारे स्टाटस लेखेपछि यो कुराले चर्चा पाएको हो । वडाध्यक्ष रामबहादुर मुक्तानले मंसिर २४ गते भएको खानीखोला गाउँपालिका ७ स्थित महांकालमा भएको जात्रामा नेपाली नक्कली नोट भेटिएको भन्दै सचेत रहन सूचना निकालेका थिए ।
यस्तो छ, वडा न ७ का वडाध्यक्ष मुक्तानले निकालेको सूचना
अत्यन्तै जरूरी सूचना
यस खानीखोला गाउँपालिका वडा नम्बर ७ मा मंसिर २४ गते भएको धार्मिक तथा सांस्कृतिक कार्यक्रम तथा स्थानीय परम्परा अनुसार लाग्ने पशुपति जात्रा मेलामा सन्चालन भएका चिया पसल, किराना पसल, तथा खुद्रा व्यापार व्यवसाय गरी स्थानीय उत्पादनबाट केही जीविका चलाउने आशा बोकेर स्थानीय किसानहरुले गरेको कारोबारहरुमा विभिन्न व्यक्तिहरु सामेल भई जानी जानी आर्थिक हानी पुर्याउन प्रत्यक्ष सलग्नता रहने गरी कानुनले बर्जित गरेको मुलुकी अपराध (संहिता) २०७४ तथा अन्य प्रचलित कानून आकर्षण हुने नक्कली नोट कारोबार गरेको देखिन आएको पर्याप्त प्रमाणहरु फेला परेको हुनाले सो जात्रा वा अन्य कुनै वाहानामा यस वडाभित्र भए गरेको कारोबार र हुनसक्ने र भइरहेको कारोवारहरुमा चनाखो भइ कारोबार गर्नुहुन र यदि त्यस्ता नक्कली नोट कोही कसैले दिएको भए सुरक्षित गरी नजिकैको प्रहरी चौकी वा स्थानीय प्रशासनमा लिखित उजुरी दिइ असल सभ्य नागरिकको परिचय दिनुहुन र भावी दिनमा हुन सक्ने दुर्घटनाहरुबाट बच्न त्यस्ता कारोबारीलाई निरुत्साहित पार्न कसैको धाक धम्की, प्रलोभन वा जुनसुकै तरहको दवाबमा नपरी समग्र वडाबासीहरु, स्थानीय भद्रभलाद्मी र सचेत नागरिकहरुमा वडा मार्फत वा स्थानीय प्रशासन मार्फत कानूनी दायरामा ल्याउन सहयोग गर्न गर्नुहुन हार्दिक अपिल
गरिन्छ ।
अध्यक्ष
राम बहादुर मुक्तान
वडा अध्यक्ष
यस विषयमा बुझ्न हामीले हालका वडाध्यक्ष रामबहादुर मुक्तानलाई खानीखोला गाउँपालिकाको आधिकारीक वेभसाइटमा राखिएको मोबाइल नम्बर र अर्को नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन् सकेन ।
सो सूचनाले सामाजिक सञ्जालमा व्यापक चर्चा पायो । केही मिडियाहरुले समाचार पनि बनाए । समाचार तथा समाजिक सञ्जालमा खानीखोला गाउँपालिका ७ का पूर्व वडाध्यक्ष क्षेत्रमान घ्यावाको संलग्नता रहेको भनिएको छ । सो घटनालाई एमालेका नेता कार्यकर्ताले अतिरञ्जित गरेको कांग्रेसका स्थानीय नेताहरुले आरोप लगाएका छन् । यो विषयमा भने स्थानीय सरकार भने मौन रहेको छ । कांग्रेसका स्थानीय नेताहरुले वडाध्यक्ष मार्फत् नक्कली नोटको फाेटो सामाजिक सञ्जालमा देखेको तर अहिले त्यो नोट कहाँ गायो ? भनेर प्रश्न गरेका छन् । वडाध्यक्षले भेटेको हो भने प्रहरीलाई किन नबुझाएको भन्दै उनीहरुले प्रश्न गरेका छन् ।
एक कांग्रेस नेताले भने, ‘यो घटनामा आफ्नो नेता कार्यकर्तालाई जोगाउन सुरुमै यो पोष्ट भएको त होइन ? आयोजक नै आफ्नो दलनिकट भएको कारणले नियोजित तरिकाले विपक्ष दलका नेता कार्यकर्तालाई फसाउने कार्य त होइन ? भन्ने विषयमा प्रश्न उठेको छ । यस विषयलाई गम्भीर रुपमा हेर्दा वर्तमान वडा अध्यक्षले राखेको नक्कली नोट प्रष्टैसँगले माईन्युटमा नोटमा राखेर खिचेको फोटो देखिन्छ ।'
यस विषयमा कंग्रेस नेता तथा पूर्व वडाध्यक्ष क्षेत्रमान घ्याबाले आफू त्यो जात्रामा नपुगेको तर आयोजकले भने पटक पटक फोन गरेर बोलाएको बताए । उनले भने, ‘मलाइ पटक पटक फोन गरेर बोलाउनुको पछाडी यसरी फसाउने रहस्य रहेछ ।’
थप प्रस्टीकरण दिंदै पूर्व वडाध्यक्ष घ्याबाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,
‘केही दिन देखि नक्कली नोट प्रयोगबारे केही अनलाइन र पत्रिकाहरुमा मेरो नाम र तस्बिर समेत राखेर प्रकाशित समाचारप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाबारे मलाई कुनै पनि जानकारी नभएको र मेरो कुनै प्रकारको संलग्नता नरहेको कुरा स्पष्ट पार्न चहान्छु । यस्ता कपोकल्पित तथ्यहिन र पूर्वाग्राही समाचारले अत्यन्तै मर्माहत र दुखिद तुल्याएको छ । त्यस्ता भ्रामक समाचारमा कुनै सत्यता नरहेकोले उक्त समाचारको भ्रममा नपर्नु हुन आम जनसमुदायलाइ आश्वस्त पार्न चाहान्छु । विभिन्न सञ्चार माध्यमले समाचारको कपि पेष्ट गरि समाचार प्रकाशित गरिनु, सामाजिक संजालमा अतिरन्जित बनाइनु मेरो राजनितिक र चारित्रीक हत्या गर्ने कुण्ठित मनासय बाहेक केही होइन । मलाई विवादमा ल्याउन चाहने निकृष्ट मानसिक्ता र दुरासायका साथ भएका यस्ता कार्यप्रती म सचेत छु । यस्ता घट्ना को सत्यतथ्य छानबिन गरि वास्तविकता बाहिर ल्याउनको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछु । पत्रकार आचारसंहिता विपरीत प्रकाशित भ्रामक र कपोलकल्पित समाचारको खण्डन गर्दै खण्डन हुबहु प्रकाशन गरीदिनु हुन समेत सम्बन्धित सञ्चार माध्यमलाई आग्रह गर्दछु । धन्यवाद ।’
घ्याबाले खानीखोला गाउँपालिका वडा नं ७ का रहेका जनताका सुख र दुखमा सधै साथ दिन आफू राजनीतिमा लागेको बताए ।
आठ दिन वितिसक्दा समेत प्रहरीमा पुगेन घटना
सामाजिक सञ्जाल र विभिनन मिडियामा चर्चा पाएको यो घटना प्रहरीमा पुगेका छैन । वडाअध्यक्ष्ले सूचना निकालेको आठ दिन भइसक्दासमेत यो घटनाको अनुसन्धान गर्न कुनै पनि व्यक्ति वा संस्था प्रहरीमा नपुग्नुलाई रहस्यमय मानिएको छ । जिल्ला प्रहरी काभ्रेका प्रवक्ता राजकुमार श्रेष्ठले दर्पण दैनिकसँग कुराकानी गर्दै भने, ‘नक्कली नोटबारे हामीले पनि मिडियामार्फत नै थाहा पाएका हौं । अहिलेसम्म कोही पनि जाहेरी लिएका आएका छैनन् । न त नक्कली नोट नै प्रहरीलाई कसैले उपलब्ध गराएका छन् ।’ काभ्रे प्रहरीले यो घटनाको अनुसन्धान गर्न प्रहरी निरिक्षकको नेतृत्वमा समिति गठन गरेको जनाएको छ । समितिले काम थालिसकेकाे छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्: