काठमाडौं । बिरामी भएर वीर अस्पत्तालको शय्यामा छटपटाइरहेकी महाभारत गाउँपालिका ६ की चमेली थिङ बललाई भेटन बागमती प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री तीर्थ लामा वीर अस्पत्ताल पुगेका छन् । आर्थिक अवस्था नाजुक भएकी ४१ वर्षिया चमेलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मन्त्री लामा अस्पताल पुगेको महाभारत गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तानले जानकारी दिए ।
लिभर र टीवीको समस्याले थलिएकी चमेलीको उपचारको लागि बागमती प्रदेश सरकार र केन्द्रीय सरकारबाट सक्दो सहयोग जुटाउने मन्त्री लामाले बताए । लामाले भने, ‘हामी लोकतन्त्रमा छौं, लोकतान्त्रिक व्यवस्था भनेको सबैको राम्रो हुनु हो, यस सन्दर्भमा उपचार नपाएर कोही पनि मर्नु हुँदैन्, जनताको समस्यामा हरेक तहका सरकार जिम्मेवार हुनु पर्दछ ।’ उनले आफू जनताको मायाले सांसद बनेको बताउदै जनताको लागि अन्तिम समयसम्म लागिरहने बताए ।
यसै क्रममा काभ्रे महाभारत गाउँपपालिकाका उपाध्यक्ष सागर मोक्तानले गाउपालिकाबाट पनि सकेको सहयोग रहने र आफुले सक्ने बिभिन्न सर सहयोगमा आफू सँधै लागिरहने बताएका छन् । गाउँपालिका भित्रका कुनै पनि ब्यक्तिलाई रोग र भोगले मर्न नदिन आफू सँधै लागिरहेको उनले बताए ।
मन्त्री लामासँगै नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ प्रदेश सभा (क)का उपसभापति रणबहादुर तामाङ र कोषध्यक्ष रमेश लामा पनि चमेलीलाई भेट्न अस्पत्ताल पुगेका थिए ।