काभ्रे । तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । तेमाल गाउँपालिकाको १३औं गाउँसभामा गाउँपालिकाका अध्यक्ष चन्द्र लामाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
गाउँ सभाको उद्घाटन बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री लामाले सबैलाई समान हुनेगरि बजेट ल्याउन अनुरोध गरे । उनले भने, ‘गाउँपालिकाका सबै क्षेत्र तथा समुदायलाई समेटेर बजेट ल्याउन अनुरोध गर्न चाहन्छु ।’
मन्त्री लामाले बजेट ल्याउदा गरिब, निमुखा तथा आम सर्वसाधारणले महसुस हुनेगरि ल्याउनु पर्ने बताए । हरेक जनप्रतिनिधिलाई जनताले अमूल्य मत दिएर पठाएको कारण पनि आम मानिसले महसुस गर्ने गरि काम गर्नुपर्नेमा मन्त्री लामाले जोड दिए । उनले संघ र प्रदेशको अधिन तथा नीति नियम भित्र रही तेमाल गाउँपालिकाले बजेट कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । सो अवसरमा प्रदेशबाट सक्दो सहयोग रहने मन्त्री लामाले प्रतिबद्धता जनाए ।
तेमाल गाउँपालिकाले पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य र कृषि तथा पशु क्षेत्रमा विशेष महत्व दिंदै आएको गाउँपालिका अध्यक्ष चन्द्र लामाले बताए । उनले आगामी आर्थिक बर्ष ९ वटै वडामा जोड्नै रणनैतिक सडकलाई प्राथमिकतामा राख्ने बताए । उनले बजेट प्रस्तुत यहीं असार १४ गते गर्ने जानकारी दिए ।