झापा । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि भारतीय बजारबाट नेपालतर्फ तरकारी र फलफूल आउने क्रम घटेको छ ।
आगामी आर्थिक वर्षको बजेट र आर्थिक ऐन, २०८० ले तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि पूर्वी नाका काँकरभिट्टाबाट तरकारी र फलफूल आयात घटेको हो । दैनिक सातदेखि नौ वटासम्म तरकारी तथा फलफूलका मालवहाक सवारीसाधन नेपाल आउने गरेपनि बजेट भाषणपछि नगण्य रुपमा मात्रै नेपाल भित्रिएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाका प्राविधिक सहायक चन्द्रेश्वर ठाकुरले बताएका छन् ।
पूर्वी नाका काँकरभिट्टाबाट अत्याधिकरुपमा आयात हुने आलु र प्याज बजेट भाषणपछि निक्कै कम आउने गरेको अन्य व्यवसायीहरुले पनि बताएका छन् । पूर्वी नाका काँकरभिट्टा भएर दुई–दुई सय मेट्रिक टन आलु र प्याज नेपाल आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाले बताएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा काँकरभिट्टा नाका भएर सात करोड ३५ लाख ६९ हजार रुपैयाँ मूल्य बराबरको नौ सय ९४ मेट्रिक टन प्याज नेपाल भित्रिएको थियो ।
त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा तीन करोड ४३ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको एक हजार सात सय ३० मेट्रिक टन प्याज नेपाल भित्रिएको थियो । चीन, भारत, बंगलादेश, इण्डोनेसिया, बेल्जियम, मलेसिया र अमेरिकाबाट नेपालमा प्याज आयात हुने भए पनि काँकरभिट्टा नाका भएर भारत र चीनबाट प्याज आयात हुँदै आएको उनले बताए ।
भारत र चीनका विभिन्न प्रान्तबाट आयात हुने प्याज नेपालको संघीय राजधानीसहित मुख्य बजारसम्म पुग्ने गरेको उनले बताए । त्यस्तै भारत, बंगलादेश, भुटान लगायतका मुलुकबाट आलु पूर्वी नाका काँकरभिट्टा आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाले जनाएको छ । पूर्वी नाका काँकरभिट्टाबाट भित्रिएका आलु राजधानीसहित भैरहवा, विराटनगर, बीरगञ्ज, नारायणगढ, इटहरी, धरान, दमकसहित स्थानीय बजारसम्म पुग्ने गरेको प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाले जनाएको छ । सरकारले विगतमा तरकारी तथा फलफूलसहितका वस्तुको आयातमा भ्याट छुट दिएपनि अहिले आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत भ्याट छुट हटाइएपछि आयात समेत कम हुँदै गएको छ । तरकारीमा भ्याट लगाउँदा उपभोक्ता मारमा परेकाले हटाउन माग गरेको काँकरभिट्टाका तरकारी व्यवसायीहरु बताउँछन् । थोक विक्रेताले अहिले आलु र प्याज आयात गर्न नै छाडेको पनि स्थानीय व्यापारीले बताए ।
तरकारी, मासुजन्य वस्तु र फलफूलमा भ्याट लगाएपछि महँगी बढ्न सक्ने उपभोक्ताको भनाइ छ । दिनहुँ भान्सामा प्रयोग गरिने अत्यावश्यक वस्तुहरु आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त नभएको उपभोक्ताहरूको भनाइ छ । आलु, प्याज जस्ता अत्यावश्यक कृषिजन्य सामग्रीमा भ्याट लगाएर सामान्य व्यक्तिलाई जीवन निर्वाह गर्न अझै कठिन बनाएकोमा उपभोक्ताहरुले चिन्ता व्यक्त गरेका छन ।