
भोजपुर । रासायनिक मलको प्रयोग घटाउँदै प्रांगारिक खेतीमा जोड दिन यहाँका किसान गड्यौला मल उत्पादनमा जुटेका छन् । यहाँका दुई वटा कृषक समूहका ४० घरपरिवारले गड्यौला मलको व्यावसायिक उत्पादन थालेका हुन् । कृषि ज्ञान केन्द्रले किसानलाई अनुदान सहयोग उपलब्ध गराएर गड्यौला मल उत्पादनमा लाग्न प्रोत्साहित गरेको छ । कार्यालयको सहयोगमा भोजपुर नगरपालिका–१२ टक्सारको न्यू जिम्पु कृषक समूहका २० परिवार र वडा–५ बोखिममा रहेको पार्टी खोला कृषक समूहका २० गरी ४० परिवारले गड्यौला मल उत्पादन गरिरहेका छन् । उनीहरूलाई ७५ प्रतिशत अनुदानमा गड्यौला मल उत्पादनका लागि आवश्यक सहयोग गरिएको केन्द्रले जनाएको छ ।
रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै प्रांगारिक बस्तु उत्पादनमा प्रोत्साहन गर्न गड्यौला मल उत्पादन तथा प्रांगारिक मल सुुधार कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रका प्रमुख गणेश खत्रीले बताए । गड्यौला मलको प्रयोगले माटोको उर्वराशक्ति बढाउने भएकाले कृषकलाई यो मलको उत्पादनसँगै प्रयोगमा जोड दिएको उनले सुनाए ।
‘हामीले कृषकलाई प्रांगारिक खेतीमा जोड्न गड्यौला मल उत्पादनको कार्यक्रम सञ्चालन गरेका हौँ,’ प्रमुख खत्रीले भने, ‘यहाँका ४० कृषकले यो मलको उत्पादन थालेका छन् । यो मलको धेरै फाइदा भएकाले किसानलाई जानकारी दिँदै मल उत्पादनमा प्रोत्साहन गर्दै आएका हौँ ।’
गाई–भैँसीको मलमूत्रसँगै सड्ने झारपात प्रयोग गरेर गड्यौला मल तयार गरिने हुँदा अन्नबालीका लागि धेरै उपयोगी हुन्छ । यो प्रविधिबाट मल बनाउँदा गड्यौला पाल्नका लागि संरचना निर्माण गरेर त्यहाँ गड्यौला राखिन्छ । गड्यौला राखेको ठाउँमा पशु चौपायाको मललाई राखी दिएपछि त्यसलाई उनीहरूले आफ्नो आहाराका रुपमा खाएर दिसा गर्ने र त्यसैलाई मलको रुपमा प्रयोग गरिने उनले बताए ।
‘यो प्रविधिबाट मल उत्पादन गर्दा पशु चौपायाको मलसँगै झारपात प्रयोग गरिन्छ,’ प्रमुख खत्रीले भने, ‘गड्यौलाले खाएर गरेको दिसालाई मलका रुपमा प्रयोग गर्ने हो । यो मल वातावरणीय हिसाबले पनि निकै उपयोगी हुन्छ । यसले माटोको उर्वराशक्ति वृद्धि गराउँछ ।’
गड्यौला मलको प्रयोगले प्रांगाारिक उत्पादनमा सहयोग पुग्ने किसानहरूको दाबी छ । गड्यौला मलको प्रयोग गर्दै आफूहरूले प्रांगारिक तरकारी फलफूल उत्पादनमा जोड दिने न्यू जिम्पु कृषक समूह टक्सारका अध्यक्ष रुद्रमणि राइले बताए । गड्यौला मलको उत्पादनले रासायनिक मलको अभावमा झेल्नु परेको समस्यासमेत अन्त्य हुन्छ । ‘हाम्रो कृषक समूहका २० परिवारले यसको उत्पादन थालेका छौँ,’ कृषक राईले भने, ‘यो मलको प्रयोग गरेर प्रांगारिक बस्तु उत्पादनमा जोड दिएका छौँ । गड्यौला मलको उत्पादनले रासायनिक मलको अभावमा झेल्नु परेको समस्यालाई समेत अन्त्य गर्ने हाम्रो उद्देश्य छ ।’
माटोलाई सन्तुलनमा राख्न र विषादीरहित उत्पादनका लागि गड्यौला मल लाभदायक रहेको किसान राईले बताए । गड्यौला मल उत्पादनका लागि ज्ञान केन्द्रले दुई कृषक समूहलाई २० लाख सहयोग गरिएको जनाएको छ । एक किसानले ५० रुपैयाँ हजार बराबरको गड्यौला पालन भर्मी बेड निर्माण गरेर गड्यौला मल उत्पादन गर्न थालेको छ । राम्रो ढंगले गड्यौला पाल्न सकेमा वर्षमा तीनपटकसम्म मल निकाल्न सकिने कार्यालयले जनाएको छ । एकवटा भर्मी बेडबाट औसतमा नौ मेट्रिक टनसम्म मल उत्पादन हुने कार्यालयका अधिकृत विशाल राईले जानकारी दिए ।
‘गड्यौला मलसँगै प्रांगारिक मलको प्रयोगमा किसानलाई प्रोत्साहन गर्दै आएका छौँ,’ उनले भने, ‘किसानहरूले ४० वटा भर्मी बेडमा यो मल उत्पादन थालेका छन् । राम्रो ढंगले गड्यौला फस्टाए वर्षमा तीन पटकसम्म मल निकाल्न सकिन्छ । सरदरमा एक भर्मी बेडबाट नौ मेट्रिक टनसम्म मल उत्पादन गर्न सकिन्छ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google