दाङ । दाङको घोराही उपमहानगरपालिका–१७, कर्जाहीका किसान बाबुराम चौधरीले एक बिघा जमिनमा लगाएको बन्दाकोभी बिक्री नहुँदा मारमा परेका छन् । तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आएका चौधरीको तयारी अवस्थामा रहेको बन्दाकोभी हालसम्म बिक्री हुन सकेको छैन ।
चौधरीले घोराही–६, गुरुवागाउँमा लगाएको सबै बन्दाकोभी अहिले बारीमै सुक्न थालेको छ । एक बिघा जमिनमा रोपेको ‘नेपाल ग्रिण ७७७’ जातको बन्दाकोभी तयार भए पनि बेच्न समस्या भएको छ ।
बजारमा सस्तोमा पाउन थालेपछि बन्दाकोभी बिक्री गर्न समस्या भएको चौधरीको भनाइ छ ।
'घरखर्च धान्न सकिएला कि भनेर एक बिघामा बन्दाकोभी लगाएको थिएँ, बिक्री गर्न नसक्दा सुक्न थालेको छ,' चौधरीले भने, 'खरिद गर्न कोही पनि आएका छैनन् ।'
प्रतिकिलो पाँच रुपैयाँका दरले बन्दाकोभी किन्न आउँदा बिक्री नगरेको उनको भनाइ छ ।
चौधरीले ७० हजार खर्च गरेर एक बिघा जमिनमा बन्दाकोभी लगाएको बताए । 'बिक्री गर्न बजारमा लैजाँदा पनि कोही किन्न तयार भएनन्,' चौधरीले भने, 'थोरै मूल्यमा बिक्री गर्न मनले मानेन, त्यसपछि बिक्री गर्न बजार लैजान छोडेको छु ।'
प्रतिकिलो पाँच रूपैयाँमा बन्दाकोभी बेच्दा आफ्नो लगानी नै नउठ्ने उनको भनाइ छ ।
हाल पाउँदै गरेको मूल्यले बन्दाकोभीको बीउ उमार्नदेखि खानका लागि तयार पार्दासम्म भएको खर्च उठ्ने अवस्था नभएको चौधरी बताउँछन् । 'व्यापारीसित समन्वय गर्दा बन्दाकोभीको बजार छैन भन्ने खबर पाएँ,' उनले भने ।
यस वर्ष जिल्लामा प्रशस्त उत्पादनसँगै बाहिरबाट धेरै मात्रामा बन्दाकोभी आउँदा आफ्नो उत्पादन बिक्री गर्न धौ–धौ भएको उनले बताए ।
विगत १० वर्षदेखि तरकारी खेती गर्दै आएका चौधरीले बन्दाकोभी खेतीबाट अघिल्ला वर्षमा मनग्य आम्दानी लिएका थिए । 'बन्दाकोभी नबिक्ने समस्या यसअघि कहिल्यै आएन,' उनले भने । तरकारी बिक्रीको व्यवस्था मिलाउन जिल्लाका अन्य व्यवसायीलाई अनुरोध गरे पनि सबै ठाउँमा यस्तै समस्या रहेको र बजारमा माग नभएको जवाफ पाएको चौधरी बताउँछन् ।
'अब बन्दाकोभी बिक्री हुँदैन, बारीमै सुकेर जान्छ,' उहाँले भने । जिल्लामा सस्तोमा बाहिरबाट तरकारी भित्रिँदा स्थानीय किसान समस्यामा परेका छन् । - रासस