काठमाडौँ । टाटाको पन्च इभी एकैपटक नेपालका ४ शहरमा सार्वजनिक गरिएको छ । चितवन, पोखरा, बुटवल र भैरहवामा टाटाको पन्च इभीको सार्वजनिक गरिएको हो । धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च इभी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा सार्वजनिक गरिएको सिप्रदीले जनाएको छ ।
पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सिओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो । यस्तै, चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपाने सहभागी थिए ।
पोखरामा आयोजित कार्यक्रममा बोल्दै सिप्रदीका सिईओ राजनबाबु श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक भएको टाटा पन्च इभीले नेपालभर उच्च माग र बुकिङ पाएको बताए । कार्यक्रममा पोखरा, चितवन, बुटवल र भैरहवामा गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण गरिएको थियो ।
टाटा पन्च ईभीको प्रारम्भिक मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।