
काठमाडौं । निजी क्षेत्रको हालसम्मकै ठूलो आयोजना माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानीको टुङ्गो लागेको छ । २८५ मेगावाट क्षमताको यस जलविद्युत आयोजना निर्माणमा एभरेष्ट बैंकसहित ६ बैंकको लगानी हुने भएको हो । बिहीबार सभामुख देवराज घिमिरेको सहभागितामा कर्जा सुबिधा सम्झौतामा हस्ताक्षर भएको हो ।
एभरेस्ट बैंकको नेतृत्वमा सहायक नेतृत्व कृषि विकास बैंक र हाइड्रोइलेट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) रहेका छन । यस्तै, राष्ट्रिय वाणिज्य बैंक, प्रभु, लक्ष्मी सनराइज, नेपाल एसबीआई, कामना सेवा बैंकको लगानी रहेनछ ।
यस आयोजनामा एभरेष्टले ५ अर्ब, एचआईडीसीएल र कृषि विकास बैंकले ४/४ अर्ब, प्रभु र राष्ट्रिय वाणिज्य बैंकले ३/३ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब, नेपाल एसबिआई बैंकले १ अर्ब, गरिमा विकासले १ अर्ब रुपैयाँ लगानी गर्ने बुझिएको हो ।
आयोजनामा कुल ५५ अर्ब लगानी (ब्याजसहित) लाग्ने कम्पनीको भनाइ छ । आयोजनामा ३० प्रतिशत स्वपुँजी (ईक्विटी) र र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी हुने भएको हो । आयोजनाले जलविद्युत विकास र उत्पादनमा ठूलो योगदान पुर्याउने कम्पनीको विश्वास छ ।
माथिल्लो तमोरका अध्यक्ष पुष्पज्योति ढुंगानाले नेपालको जलविद्युत क्षेत्रमा यस आयोजनाले ठूलो भूमिका खेल्ने धारणा राखे । निजी क्षेत्रबाट निर्माण तथा सञ्चालनमा आउने सबैभन्दा ठूलो आयोजना हो माथिल्लो तमोर भएको जानकारी गराउँदै उनले यो आयोजना निर्माणमा स्थानीयको पनि ठूलो सहयोग रहने विश्वास व्यक्त गरे । उनले यस आयोनाको साधारण सेयर (आईपीओ) पनि जारी गर्ने जानकारी गराए ।
यस जलविद्युत आयोजनाको विस्तृत अध्ययन तयार भइसकेको उनले बताए । आयोजनाको ग्रस हेड ४६४ मिटर र नेट हेड ४३३.४२ मिटर हुनेछ ।
आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) समेत गरिसकेको छ । यस आयोजनाको औसत ६.२७ रुपैयाँ प्रतियुनिटमा पीपीए भएको हो । आयोजना निर्माणपछि ९ अर्ब २८ करोड रुपैयाँ वार्षिक आम्दानी हुने अनुमान कम्पनीको छ ।
कार्यक्रममा बोल्दै मुख्य वित्तीय लगानीकर्ता एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले यो लगानीले नेपालका बैंकहरू पनि ठूलो रकम ऋण लगानी गर्न सक्छन् भन्ने प्रमाणित भएको धारणा राखे ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google