काठमाडौं । मोलुङ हाइड्रोपावरको सेयर आज (शुक्रबार) बाँडफाँट भएको छ । कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि २२ लाख ६४ हजार पाँच सय ५५ कित्ता सेयर जारी गरेको थियो ।
कम्पनीले जारी गरेको सेयरमा ६.८३ गुणा बढी आवेदन परेको थियो । १४ लाख १७ हजार आवेदकले एक करोड ५४ लाखभन्दा बढी कित्ताको माग गरेका थिए । आवेदकमध्ये दुई लाख २६ हजार चार सय ६५ लाई प्रतिव्यक्ति १० कित्ताको दरमा र पाँच भाग्यमानीलाई भने थप एक कित्ता सहित ११ कित्ताको दरमा सेयर बाँडफाँट गरिएको छ ।
कुल २७ लाख २८ हजार पाँच सय कित्ता सेयर जारी गरेको कम्पनीले दुई लाख ७२ हजार आठ सय ५० कित्ता सेयर वैदेशीक रोजगारीमा रहेकाहरूको लागि र अन्य बाँकी सर्वसाधारण सहित आयोजनाका कर्मचारी, सामूहिक लगानी कोषको लागि छुट्याएको थियो । सेयर बाँडफाँट सँगै कम्पनीको चुक्ता पुँजी ८० करोड २५ लाख रूपैयाँ पुगेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् । साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ ।