काभ्रो । रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७२ करोड ४ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँसभाको १७ औँ अधिवेशनको मंगलबार सम्पन्न बैठकमा पालिकाका अध्यक्ष दिनेश लामाले नीति तथा कार्यक्रम र उपाध्यक्ष मिमबहादुर वाईबाले बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रस्तुत गरेका थिए ।
रोशीको बजेटको खर्च व्यहोर्नुपर्ने स्रोत तर्फ आन्तरिक स्रोत १ करोड २६ लाख रुपैयाँ, स्थानीय राजस्व बाँडफाँडबाट २ करोड ५० लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ९ करोड ५० लाख ६० हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट ३ करोड ९९ लाख ५६ हजार रुपैयाँ, सङ्घीय समानीकरण अनुदान १० करोड २५ लाख रुपैयाँ, सशर्त अनुदान ३२ करोड ५१ लाख रुपैयाँ, समपूरक अनुदान ९९ लाख र विशेष अनुदान ८९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश समानीकरण अनुदान १ करोड २ लाख ५० हजार रुपैयाँ, सशर्त अनुदान २ करोड ७० लाख २७ हजार रुपैयाँ, समपूरक अनुदान २ करोड ८५ लाख रुपैयाँ र विशेष अनुदान ६५ लाख रुपैयाँ प्राप्त हुने अनुमान रहेको छ ।
बैठकमा उपाध्यक्ष वाईबाले बजेटसँगै विभिन्न विधेयकहरू पनि प्रस्तुत गरे । उनले विनियोजन विधेयक २०८२, आर्थिक विधेयक २०८२, स्थानीय उद्योग दर्ता, सञ्चालन, व्यवस्थापन र नियमनसम्बन्धी विधेयक, जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण तथा उपयोगसम्बन्धी विधेयक पेस गरे ।
त्यस्तै, न्यायिक समितिको वार्षिक प्रगति प्रतिवेदन पनि बैठकमा प्रस्तुत पेस गरिएको थियो भने लेखा समिति संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष धनजीत लामाले बेरुजु फर्छौटका लागि प्रस्ताव पेस गरे ।
यस्ताे छ, उपाध्यक्ष वाईबाले प्रस्तुत गरेकाे आव २०८२/८३ को बजेट वक्तव्यका केही हाइलाइट
पूर्वाधार विकास अन्तर्गत देहायको कार्यक्रम तथा बजेट प्रस्ताव गरेको छुः-
१. रोशीको गौरवको आयोजनाको रुपमा रहेको वडा नं. १ देखि ७ सम्म जोड्ने चौकीडाँडा खहरेपाँगु सडक स्तरोन्नति तथा कालोपत्रे गर्न रु. २ करोड विनियोजन ।
२. गाउँपालिकाको प्रशासकीय भवनको पूर्वाधार व्यवस्थापनको लागि १ करोड २० लाख व्यवस्थापन ।
३. गाउँपालिकाको प्रशासकीय भवनको सूचना प्रविधि जडानको लागि रु. २० लाख विनियोजन ।
४. संघीय र प्रदेश सरकारको साझेदारीमा संचालन हुने समपुरक आयोजनाको म्याचिङको लागि रु. २ करोड ६५ लाख विनियोजन ।
सामाजिक विकास अन्तर्गत देहायको कार्यक्रम तथा बजेट
गाउँपालिका भित्रका ६० वर्ष वा सो भन्दा माथिका सबै ज्येष्ठ नागरिकहरुको स्वास्थ्यको हेरचाह गर्न निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न रु. ६० लाख बजेट विनियोजन ।
संचित कोषबाट निबृत्तभरण जस्ता सुविधा नपाउने स्वीकृत दरवन्दीका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गर्नको लागि रु. ५० लाख विनियोजन गरेको छु ।
मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरण गर्न 'सुत्केरी आमा पोषिलो खाना' कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन ।
पालिका भित्रको स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिई नागरिकको गुणस्तरिय स्वास्थ्य सेवामा सुधार गर्न थप जनशक्ति व्यवस्थापनका लागि रु १ करोड ४० लाख बजेट विनियोजन ।
नसर्ने रोगहरुको रोकथाम, उपचार र नियन्त्रणको लागि स्वास्थ्यकर्मीहरुलाई तालिम तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
राजमार्गमा हुन सक्ने विपद तथा दुर्घटनाजन्य परिस्थितिमा २४ सै घण्टा एम्बुलेन्स सेवा सुनिश्चित गर्न नयाँ एम्बुलेन्स खरिद गर्न रु २५ लाख विनियोजन ।
विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्य र पोषणलाई सुधार गर्न विद्यालय नर्सहरुलाई सम्बन्धित वडाको विद्यालय र समुदायमा स्वास्थ्य शिक्षा तथा सचेतना जगाउन विद्यालय नर्स परिचालनको व्यवस्था मिलाइएको छ ।
महिला सशक्तिकरणका लागि सीपमूलक व्यवसायिक तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था ।
लोपोन्मुख जातिको आर्थिक, सामाजिक, सांस्कृतिक तथा मूल प्रवाहीकरण गर्न विशेष कार्यक्रम सञ्चालन तथा निरन्तरताका लागि आवश्यक बजेट विनियोजन ।
गाउँपालिका क्षेत्रभित्रको विविध जातजातिको भाषा, संस्कृति, परम्परा, भेषभूषा आदिको संरक्षण र प्रवर्धन गर्न बृहत सांस्कृतिक महोत्सव आयोजना गर्न रु. ८ लाख बजेट विनियोजन ।
लैङ्गिक तथा घरेलु हिंसा लगायतका सामाजिक विकृतिहरु रोकथाम तथा न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको ।
विद्यालय तहका विद्यार्थीहरुको शारीरिक, मानसिक, बौद्धिक एवं नेतृत्व विकासमा सहयोग पुर्याउन राष्ट्रपति रनिङ शिल्ड एवं अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको लागि रु ८ लाख विनियोजन ।
• शिक्षक तथा विद्यालय कर्मचारीको पेसागत विकासका लागि क्षमता विकासका कार्यक्रमलाई रु. ५ लाख विनियोजन ।
शिक्षक, बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीको तोकिएको न्यूनतम पारिश्रमिक साथै स्वीकृत दरवन्दी भित्र रहेका करार सेवाका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन रु २ करोड २५ लाख बजेट विनियोजन ।
जेष्ठ नागरिक स्याहार सुसार तथा सम्मान अन्तर्गत श्रवण कुमार सम्मान कार्यक्रमलाई निरन्तरता ।
आर्थिक विकास अन्तर्गत देहायका कार्यक्रम तथा बजेट
माटोको अम्लियपन मापन गरी उत्पादकत्व बृद्धि गर्न गाउँपालिकामा माटो परीक्षण ल्याव संचालन गर्न ५ लाख बजेट विनियोजन ।
कृषि तथा पशुजन्य रोगहरुको रोकथाम, नियन्त्रण र उपचारका लागि कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था ।
कृषक तथा युवा उद्यमीहरुका लागि उद्यमशीलता प्रवर्द्धनमा जोड दिन ब्याज अनुदान कार्यक्रमलाई निरन्तरता दिन रु. १० लाख विनियोजन ।
दुधजन्य र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउन व्यावसायिक पशुपालनलाई जोड दिन पकेट क्षेत्र प्रवर्धन कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
आर्थिक तथा सामाजिक रुपमा पिछडिएको समुदाय तथा लक्षित एवं विपन्न दलित वर्गको आर्थिक उपार्जन र दलित विद्यार्थी उच्च शिक्षा प्रत्साहन कार्यक्रमको लागि रु ८ लाख विनियोजन ।
लघु उद्यम विकास कार्यक्रम सञ्चालन, व्यवस्थापन तथा प्रवर्धनका लागि रु ८ लाख बजेट विनियोजन ।
गाउँपालिकाको पर्यटकीय क्षेत्र संरक्षण तथा प्रवर्धन गर्न पर्यटकीय पूर्वाधार निर्माणको लागि रु.१० लाख विनियोजन ।
वन, वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत देहायको कार्यक्रम तथा बजेट
विपद्बाट प्रभावित नागरिकको निजी आवास पुनर्निर्माण र प्रवलीकरण गर्न रु ५० लाख विनियोजन ।
गाउँपालिकाको विपद् जोखिम नक्साङ्कनको आधारमा विशिष्ट प्रकृतिका विपद् जोखिम प्रतिकार्य तथा पुनर्उत्थान कार्यक्रमलाई आवश्यक बजेट विनियोजन ।
विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि प्रतिकार्य योजनाको आधारमा विपद्को पूर्व तयारीदेखि पुनस्थापनासम्मका कार्य गर्न आपतकालिन खोज, उद्धार तथा राहात कोष र सामाग्रीको व्यवस्थापन गर्न रु ५० लाख विनियोजन ।
संस्थागत विकास तथा सेवा प्रवाह अन्तर्गत देहायको कार्यक्रम तथा बजेट
गाउँ कार्यपालिका अन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीको मनोबल उच्च बनाई गुणस्तरीय सेवा प्रवाहमा केन्द्रीकृत गर्न कर्मचारीलाई कार्यसम्पादनको आधारमा पुरस्कृत गर्न आवश्यक बजेटको व्यवस्था ।
गाउँपालिकाका नागरिकहरुको लागि करदाता शिक्षा कार्यक्रम र राजस्व सुधार कार्यक्रम संचालन गर्न रु. १२ लाख विनियोजन ।
कर्मचारीको कार्य बोझ, जिम्मेवारी तथा उत्तरदायित्व पक्षलाई मनन गरी कार्यसम्पादनमा आधारित कर्मचारी प्रोत्साहन तथा पुरस्कारको लागि ४५ लाख ८० हजार विनियोजन ।
सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र उत्तरदायी बनाउन सामाजिक उत्तरदायी कार्यक्रम सञ्चालन गर्ने कार्यलाई निरन्तरता ।
कार्यसम्पादनमा सुधार तथा पृष्ठपोषण प्रदान गर्न अर्धवार्षिक तथा वार्षिक समीक्षा कार्यक्रमलाई निरन्तरता ।
सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई व्यवस्थित गर्न मोबाईल बैंकिङ सेवा मार्फत वडास्तरमै वितरण गर्ने व्यवस्थालाई निरन्तरता दिन रु ६ लाख बजेट विनियोजन ।
घरको नक्सा पासको लागि महिलाको नाममा घर नक्सा पास गर्दा ५%, दलित महिलाको नाममा घर नक्सा पास गर्दा १०% छुट र दलित पुरुषको नाममा घर नक्सा पास गर्दा ५% छुट दिने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google